Logo

काँग्रेसको मञ्चमा आकर्षण र तारोको केन्द्र लिङ्देन



काठमाडौं, २४ मंसिर । नेपाली काँग्रेसको १४औं महाधिवेशनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देन आकर्षणको केन्द्र बने । उनी मञ्चमा बस्दा होस् या बोल्दा तालीको गडगडाहट सुनियो ।

लिङ्देनप्रतिको आकर्षण देखेर अतिथिको रुपमा निम्तो गरिएका नेताहरुले उनलाई लक्षित गरी बोले । लिङ्देनले गाउँघरमा नेता चोर हुन् भन्ने थालिएको बताए । नेताहरुप्रति अविश्वास बढेको भन्दै सचेत हुनुपर्नेमा जोड दिए । उनले राजसंस्था अनिवार्य भएको बताए । लिङ्देनले यसो बोल्दा ताली निकै बज्यो ।

त्यसपछि बोल्ने नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले लिङ्देनप्रति संकेत गर्दै राजतन्त्रको सपना नदेख्न भने । उनले राजतन्त्र ल्याउने दुस्साहस गरे नेपाली जनताले ठूलो धक्का दिने चेतावनी दिए । पूर्वराजा ज्ञानेन्द्र शाहलाई व्यापार गर्न या पार्टी खोल्न भने । तर, देशमा राम्रो संकेत नदेखिएको र कालो बादल मडारिएको भने ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि गणतन्त्रमाथि खतरा बढेको टिप्पणी गरे । उनले घुमाउरो तरिकाले लिङ्देनको उदयतर्फ संकेत गर्दै गणतन्त्रविरुद्ध योजनावद्ध प्रहार हुनथालेको बताए ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लिङ्देनको भनाई उदृत गर्दै आलोचना गरे । उनले भने,‘नेता चोर हुन् भन्ने ?’ ओलीले लिङ्देनलाई भर्खरको बाछो भन्दै हिंड्न नजानेको टिप्पणी गरे । उनले लिङ्देनको नाम नलिई नयाँ नयाँ अध्यक्ष भएकाले राप र ताप बाँकी रहेको भन्दै व्यङ्ग्य गरे ।

Photo By: Mukunda Kalikote/ReportersNepal



प्रतिक्रिया दिनुहोस्