काठमाडौं, मंसिर २६। नेपाली कांग्रेसको नयाँ नेतृत्व चयन गर्न काठमाडौंमा जारी १४औं महाधिवेशनमा विभिन्न १ सय ३४ पदमा ५ सय ४८ जनाको उम्मेदवारी परेको छ ।
कांग्रेसको जारी महाधिवेशनमा एक सभापति पदका लागि ६ जनाको उम्मेदवारी दर्ता भएको हो । यसैगरी उपसभापति पदमा ७ जना तथा महामन्त्रीमा ६ जनाको उम्मेदवारी दर्ता भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । यसैगरी ८ सहमहामन्त्री पदमा २० जनाको उम्मेदवारी दर्ता भएको छ ।
सभापतिमा वर्तमान सभापति शेरबहादुर देउवा, नेता शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, कल्याण गुरुङ र युवराज न्यौपानेको उम्मेदवारी परेको हो ।
सभापतिमा १३औं महाधिवेशनपछि स्थापित नेता कृष्णप्रसाद सिटौला समूहले भने देउवालाई सघाएको छ । शनिबार देउवा सभापति पदका लागि उम्मेदवारको मनोनयन दर्ता गर्न जाँदा सिटौलासँगै गएका थिए ।
यसैगरी उपसभापतिमा देउवा समूहबाट पूर्णबहादुर खड्का र विजयकुमार गच्छेदार उम्मेदवार बनेका छन् । यस्तै कोइरालाको समूहबाट चन्द्र भण्डारी र धनराज गुरुङ उपसभापतिको उम्मेदवार बनेका छन् भने सिंहको समूहबाट नेतृ सुजाता कोइराला सभापतिको उम्मेदवार बनेकी छन् भने निधिको समूहबाट दिवेश्वरी शाह उपसभापतिको उम्मेदवार बनेका छन् ।
यसैगरी नेता महेश अचार्यलेसमेत उपसभापतिमा उम्मेदवारी दिएका छन् । तर, उनी कतै पनि खुलेका छैनन् । कांग्रेस विधानमा दुई उपसभापति निर्वाचनमार्फत चयन हुने व्यवस्था छ ।
यसैगरी दुई महामन्त्री पदका लागि ६ जनाको उम्मेदवारी परेको छ । संस्थापन समूहबाट डा प्रकाशशरण महत र युवा नेता प्रदीप पौडेल महामन्त्रीका उम्मेदवार बनेका छन् । पौडेल सिटौला समूहबाट देउवा टिममा परेका हुन् ।
यसैगरी कोइरालाको समूहबाट गगन थापा र मिनेन्द्र रिजाल महामन्त्रीको उम्मेदवार बनेका छन् भने सिंहको समूहबाट विश्वप्रकाश शर्मा महामन्त्रीको उम्मेदवार बनेका छन् । यस्तै निधिको समूहबाट डा। राजाराम कार्कीले महामन्त्रीको उम्मेदवारी दिएका छन् ।
यसैगरी विभिन्न आठवटा क्लस्टरबाट छानिने ८ जना सहमहामन्त्रीका लागि २० जनाको उम्मेदवारी दर्ता भएको छ ।
देउवा समूहबाट महिला सहमहामन्त्री पदमा महालक्ष्मी उपाध्याय डिना, आदिवासी जनजातितर्फ भीष्मराज आंदाम्बे, दलित सहमहामन्त्रीमा मानबहादुर विश्वकर्मा, मधेशी सहमहामन्त्रीमा महेन्द्र यादव, खस आर्यमा किशोरसिंह राठौर, थारु सहमहामन्त्रीमा उमाकान्त चौधरी, मुस्लिमतर्फको सहमहामन्त्रीमा फरमुल्लाह मन्सुर र पिछडिएको क्षेत्रको सहमहामन्त्रीमा जीवनबहादुर शाहीलाई उम्मेदवार बनेका छन् ।
यसैगरी कोइराला समूहबाट ८ सहमहामन्त्रीमा दलिततर्फबाट जीवन परियार, महिलातर्फ कमला पन्त, मधेसीतर्फ रामकृष्ण यादव, थारुतर्फ तेजुलाल चौधरी, जनजातितर्फ विकास लामा, खसआर्यतर्फ देवराज चालिसे र अल्पसंख्यकतर्फ बद्री पाण्डेले उम्मेदवारी दिएका छन् । राजधानी दैनिकबाट