काठमाडौं, मंसिर २७ । नेपाली कांग्रेसको जारी १४ औँ महाधिवेशनमा आफु कुन प्यानलको भनेर नखुलेका महामन्त्री शशांक कोइरालाको नाम सभापतिका उम्मेदवार शेरबहादुर देउवाको प्यानलमासमेत भेटिएको छ ।
देउवा प्यानलमा केन्द्रीय सदस्य (खुला) तर्फको ३५ सिटको लागि ८१ नम्बरमा शशांको नाम देखिएको छ । केन्द्रीय सदस्य पदमा उम्मेदवार दिएका कोइरालाले संस्थापनइतर पक्षबाट सभापतिको उम्मेदवारमा दाबी गर्दै आएपनि साझा उम्मेदवार तय गर्न उनी ब्याक भएका थिए ।
पछिल्लो समय आफ्नै समुहसंग रुष्ट देखिएका शशांक आईतबार शेखर टीमले राजधानीमा गरेको पत्रकार सम्मेलनमा पनि देखिएनन्। उनी शेखरले उम्मेदवारी दर्ता गर्ने बेलासमेत नदेखिएपछि विभिन्न अनुमानहरु बाहिर आईरहेका छन्।
शेखर-प्रकाशमानको प्यानलमासमेत नाम रहेका शशांकको भूमिकालाई लिएर यतिबेला कांग्रेस भित्र चर्चा सुरु भएको छ ।
महाधिवेशन सुरु अघिका दिनहरुमा देउवाले शशांक कोइरालाई आफ्नो प्यानलबाट उपसभापति उठ्न प्रस्ताव गरेका थिए। बालुवाटारमा भएको देउवा पक्षको बैठकबाटै देउवाले शशांकलाई फोन गर्दै उपसभापतिमा उठ्न प्रस्ताव गरेका थिए ।
नेता शशांकसमेत एकपटक महाराजगन्जस्थित निवासमा पौडेल पक्षका नेताहरुको बैठक चलिरहेकै बेला मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडू, धनराज गुरुङ, चन्द्र भण्डारीलगायतका नेताहरुलाई बैठकमै छाडेर प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार गएका थिए ।