काठमाडौं, २७ मंसिर । नेपाली काँग्रेसको १४औं महाधिवेशनमा कुनै पनि उम्मेदवारले पहिलो चरणमा बाजी मार्ने सम्भावना कमजोर देखिएको छ । महाधिवेशनको दौरान गुटहरु छिन्नभिन्न हुने देखि कित्ता परिवर्तन हुनुले यस्तो अवस्था देखिएको छ ।
सभापति शेरबहादुर देउवा सबैभन्दा बलियो देखिन्छन् । तर, उनले विधान अनुसार पहिलो चरणमा बहुमत मत पाउने सम्भावना कमजोर देखिएको छ । उनीनिकट प्रवक्ता विश्वप्रकाश शर्माले कित्ता परिवर्तन गर्नु, सूचीमा नपरेका केन्द्रीय सदस्यका उम्मेदवारहरु अर्को समूहमा जानुले यस्तो अवस्था आएको हो । देउवा समूहमा लामो समय रहेका विमलेन्द्र निधि सभापतिका उम्मेदवार छन् । देउवासँग विगतमा नजिक रहेका कल्याण गुरुङ पनि सभापतिका उम्मेदवार छन् ।
सभापतिका अर्का उम्मेदवार डा. शेखर कोइरालालाई परिवारभित्रका सुजाता कोइराला र डा. सशांक कोइरालाको साथ देखिएको छैन । सुजाता प्रकाशमान सिंहको प्यानलमा उपसभापतिको उम्मेदवार छिन् । सशांक कुनै पनि गुटमा नरहेको सार्वजनिक अभिव्यक्ति दिएर पन्छिएका छन् । यसले पनि शेखरलाई असहयोग भएको प्रष्ट देखिन्छ । रामचन्द्र पौडेल पनि तटस्थ भूमिकामा देखिएका छन् ।
सभापतिका उम्मेदवार प्रकाशमान सिंह शेखरलाई उछिनेर दोस्रो बन्ने प्रयासमा छन् । उनले बागमती प्रदेशबाट उल्लेख्य मत प्राप्त गर्ने अपेक्षा गरेका छन् । त्यसबाहेक जनजातिको मत सिंहलाई बढी खस्ने आशा उनीपक्षधरले गरेका छन् । सुजाता कोइराला र विश्वप्रकाश शर्मासँग रहेको मत पनि सिंहलाई जाने हुँदा पासा पल्टन सक्छ ।
विमलेन्द्र निधिको आधार क्षेत्र मधेश हो । उनले मधेशबाट प्राप्त गर्ने मतले सबैभन्दा समस्या देउवालाई नै पर्न सक्छ । अर्कोतर्फ, कल्याण गुरुङले प्राप्त गर्ने मत पनि मधेशकै हो । उनको आधार क्षेत्र पनि मधेश नै हो ।
प्रदेश १
यो क्षेत्र कोइराला परिवारको गढ मानिन्छ । तर, प्रदेश सभापतिमा कोइराला इतर समूहका उद्धव थापाले २ मतले जित हासिल गरे । ७३३ महाधिवेशन प्रतिनिधि रहेको प्रदेश १ बाट शेखर कोइरालाले बढी मत ल्याउने देखिन्छ । त्यहाँ पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षधरको मत देउवालाई जाने देखिन्छ । सुजाता कोइराला प्रकाशमान सिंहको प्यानलमा उपसभापतिको उम्मेदवार भएकाले मत बाँडिने देखिन्छ । सिंहले पनि प्रदेश १ बाट मत प्राप्त गर्ने देखिन्छ । निधिले पनि केही मत पाउनेछन् ।
प्रदेश २
८०७ महाधिवेशन प्रतिनिधि रहेको प्रदेश २ मा सबैभन्दा बढी मत बाँडिन्छ । त्यहाँ विमलेन्द्र निधिले बढी मत लान सक्छन् । बाँकी मत देउवा र शेखरले लानसक्छन् । प्रदेश २ बाट प्यानलमा केन्द्रीय सदस्यका उम्मेदवारहरु बढी देखिएकाले प्रकाशमान सिंहको पक्षमा पनि केही मत जाने देखिन्छ । कल्याण गुरुङले पनि मत ल्याउने अवस्था छ । धेरै मत बाँडिने भएकाले प्रदेश २ मा कुनैपनि उम्मेदवारले एकले ३ सय मत ल्याउन सक्ने देखिदैन ।
बागमती प्रदेश
राजधानी काठमाडौं समेत रहेको बागमती प्रदेशमा सबैभन्दा बढी मत छ । ८७९ मत रहेको बागमतीमा सबैभन्दा मजबुत प्रकाशमान सिंह छन् । उनको मुख्य पकड क्षेत्र यही हो । आधाभन्दा बढी मत बागमतीबाट प्रकाशमानलाई जाने अनुमानहरु भएका छन् । त्यसपछि देउवा अनि कोइरालाले मत लिन सक्छन् । निधिको पनि केही मत छ ।
गण्डकी प्रदेश
४८० मत रहेको गण्डकीमा संस्थापन इतर मजबुत भएपनि विभाजित भएको छ । तैपनि, शेखर कोइरालाले बढी मत लिनसक्ने सम्भावना छ । गण्डकीबाट देउवा र सिंहको पनि मत छ । निधिले पनि केही मत लिन सक्छन् ।
गण्डकीबाट कुनैपनि उम्मेदवारले २५० भन्दा बढी मत एक्लैले लिन सक्ने देखिदैन ।
लुम्बिनी प्रदेश
६८३ मतदाता रहेको लुम्बिनीमा संस्थापन इतर बलियो छ । तर, इतर समूह बाँडिएको छ । यो क्षेत्रबाट देउवा र कोइरालाले उस्तै संख्यामा मत लिने सम्भावना छ । सिंह र निधिको पनि केही मत छ ।
कर्णाली प्रदेश
३१७ मतदाता रहेको कर्णाली प्रदेशमा देउवा बलियो छन् । देउवापछि कोइराला बलिया देखिन्छन् । तर, सिंह र निधिको पनि मत छ ।
सुदूरपश्चिम प्रदेश
यो प्रदेश देउवाको गृहजिल्ला हो । ४१९ मतदाता रहेको सुदूरपश्चिममा देउवाको ३ सय जति मत देखिन्छ । त्यसपछि कोइराला र सिंहले मत लिन सक्छन् । विमलेन्द्र निधि र कल्याण गुरुङले पनि केही मत लिन सक्छन् ।
भातृ संगठन
काँग्रेसका भातृ संगठनबाट १३३ महाधिवेशन प्रतिनिधि चयन भएका छन् । बहुमत देउवा पक्षका छन् । बाँकीमा कोइराला, सिंह र निधिका पनि छन् ।
जनसम्पर्क समिति
काँग्रेसको बाह्य मुलुकमा रहेको संगठन जनसम्पर्क समितिबाट १९४ मतदाता छन् । यो मत पनि बाँडिनसक्छ । संस्थापन पक्षले जनसम्पर्क समितिबाट बहुमत मत दाबी गरेको छ । सुजाता कोइरालानिकटस्थलहरु जनसम्पर्क समितिमा धेरै छन् । यसले सिंहलाई फाइदा मिल्न सक्छ ।
केन्द्रीय कमिटि
सभापतिसहित केन्द्रीय कमिटिका १०३ जनामध्ये बहुमत देउवा पक्षधर छन् । त्यसबाहेक कोइराला र सिंह पक्षधर पनि छन् । यो मत बाँडिने देखिन्छ ।-Photo: Mukunda Kalikote