काठमाडौं, पुस १ । आज पुस १ । प्रथम जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा अपदस्थ गरिएको दिन् ।
विसं २०१७ पुस १ गते पहिलो निर्वाचित प्रधानमन्त्री बिपी कोइरालालगायतका नेतालाई सेनाको बलमा बन्दी बनाई तत्कालीन राजा महेन्द्रले पञ्चायत शासन व्यवस्थाको शुरुआत गरेका थिए।
नेपाल तरुण दलको कार्यक्रममा सहभागी भईरहेका पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपीलगायतका नेतालाई त्यहीँबाट गिरफ्तार गरी तीन महिना सिंहदरबार र त्यसपछि सुन्दरीजलमा बन्दी बनाइएको थियो ।
सुन्दरीजलस्थित नेपाली सेनाको आर्सनलका हाकिमको आवासमा पर्खालले घेरी बिपीलगायतका नेतालाई बन्दी बनाइएको हो । यही जेलपछि सुन्दरीजल बन्दीगृहका नामले चिनियो ।
जननिर्वाचित सरकारलाई हटाएपछि महेन्द्रले के गरे?
भारत र चीनबीच सन्तुलित सम्बन्ध बनाउँदै ५१ देशहरुसँग कूटनीतिक सम्बन्ध स्थापना गर्न, भारतीय सेनालाई दक्षिणी र उत्तरी सीमाहरुबाट हटाउन, नेपालमा भारुको प्रचलन बन्द गर्न, पूर्वपश्चिम राजमार्ग निर्माण गर्न, भारतको विरोध हुँदाहुँदै पनि कोदारी राजमार्ग निर्माण गरेर चीनसँगको नाका खोल्न, मन्त्रिपरिषदको बैठकमा भारतीय राजदूत उपस्थित हुने व्यवस्था अन्त्य गर्न, भूमिसुधार व्यवस्था, छुवाछूतलाई दण्डनीय बनाउन, पञ्चवर्षीय योजनाको सुरुवात गर्न, सर्वोच्च अदालत, नेपाल राष्ट्र बैंक र त्रिभुवन विश्वविद्यालय स्थापना गर्न, नेपाललाई सन् १९५५ मा संयुक्त राष्ट्रसंघको सदस्य बनाउन, नेपालको प्रशासनिक संरचनालाई १४ अञ्चल र ७५ जिल्लामा विभाजन गर्न, गाउँ फर्क अभियान (अहिलेको गाउँगाउँमा सिंहदरबार) चलाउन, बाँसबारी छालाजुत्ता कारखाना, जनकपुर चुरोट कारखाना, त्रिशूली र पनौती जलविद्युत आयोजना निर्माण गर्न, नेपाली चलचित्र निर्माण गर्न, नेपालको आफ्नै अंग्रेजी अखबार द राइजिङ नेपाल स्थापना गर्न, नेपालका विभिन्न सहरहरु निर्माण गर्न राजा महेन्द्रको निकै ठूलो योगदान थियो । त्यही भएर एकथरीले महेन्द्र राष्ट्रवादी र देशभक्त भएको भन्दै उनलाई सम्झने गरेका छन् ।