काठमाडौं, २ पुस । नेपाली कांग्रेसको १४औं महाधिवशेन अन्तर्गत भएको निर्वाचनको सहमहामन्त्री पदको मतगणना आज गरिदै छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपा ललितपुरमा अहिले मतपेटिका केही बेरमा खोलिने केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
समितिको अनुसार पहिलो ३ वटा क्लस्टरको मतगणना हुनेछ । आज सुरुमा मुस्लिम, मधेसी र खस आर्यतर्फको मतगणना हुन लागेको हो । शुक्रबार ९ ठाउँमा मतगणना हुनेछ ।
मधेसीतर्फ महेन्द्र यादव, रञ्जीत कर्ण, रामकृष्ण यादव, मुस्लिमतर्फ फरमुल्लाह मन्सुर र शेख वकिल त्यस्तै, खसआर्यतर्फ किशोरसिंह राठौर र देवराज चालिसे प्रतिस्पर्धामा छन् ।
आदिवासी जनजाति क्लस्टरअन्तर्गत सहमहामन्त्रीमा भीष्मराज आङ्देम्बे विजयी भएका छन्। महिलातर्फको सहमहामन्त्रीमा डीना उपाध्याय विजयी भएकी छिन् । उनले २५३३ मत प्राप्त गरिन् । त्यस्तै, सहमहामन्त्रीमा दलिततर्फ शेखर कोइराला समूहका जीवन परियार निर्वाचित भएका छन् । परियारले शेरबहादुर देउवा समूहका उम्मेद्धवार मानबहादुर विश्वकर्मालाई पराजित गरेका हुन् । परियारले २२१२ मत प्राप्त गरेका छन् भने विश्वकर्माले २१७५ मत ल्याए ।