Logo

स्याङ्जाको आँधीखोलामा १ लाख माछाका भुरा छाडियो



स्याङ्जा, २ पुस । स्याङ्जाको आँधीखोला गाउँपालिकाद्वारा पर्यावरणीय सन्तुलन कायम गर्न आँधीखोलामा एक लाख माछाका भुरा छोडिएको छ । गाउँपालिकाले स्याङ्जा स्थित कालीगण्डकी माछा प्रजनन केन्द्रबाट ३७ पोका भुरा ल्याएर आँधीखोलाको विभिन्न १० ठाउँमा छोडेको हो । माछाको पारिस्थितिकीय प्रणालीमा असर परेको भन्दै वातावरणीय प्रभाव सन्तुलनका लागि माछाका भुरा छाडिएको गाउँपालिकाले जनाएको छ ।

करेन्ट र विषादी प्रयोगको कारणले परम्परागत र स्थानीय जातका माछा लोप हुने खतरा बढेपछि स्थानीय जातका माछाका भुरा छाडिएको आँधीखोला गाउँपालिका अध्यक्ष सुधिर कुमार पौडेलले बताए। नदी, ताल र खोलाको जैविक विविधता कायम गर्न, पानी शुद्ध राख्न र पानीमा अक्सिजनको मात्रा बढाउन माछाको भूमिका महत्वपूर्ण हुन्छ, जैविक विविधता नभएको नदी ताल तथा खोलाको कुनै महत्व हुँदैनू उनले बताए ।

गाउँपालिका उपाध्यक्ष शर्मिला देवी पौडेलले स्थानीय जातका माछा संरक्षण गर्दै आँधीखोलाका माछालाई ब्राण्डिङ गर्नुपर्नमा जोड दिएकी थिइन् । जलारी समुदायको जीवनयापनको आधार भएको माछा भएको र यसको लागि उत्पादन संरक्षणमा गाउँपालिकाले विशेष चासो दिएको उनको भनाइ थियो ।

खोलामा साना भुरा छोड्दा बकुल्लो लगायतका विभिन्न चरा तथा सर्पले समेत खाने सम्भावना बढि रहेकाले कम्तीमा पनि १५ देखि २५ ग्रामका माछा छोडिएको कृषि प्राविधिक विवेक आचार्यले बताए ।

हेडे जातका २५ हजार, गर्दी जातका २५ हजार, ठेड जातका २५ हजार र सहर जातका २५ हजार गरी एक लाख माछा खोलामा छाडिएको गाउँपालिकाका सूचना प्रविधी अधिकृत रोशन लामिछानेले बताए ।

यस्तै गरी अर्को सूचना नआएसम्म खोलामा जाल हान्ने, ढडिया थाप्ने, करेण्ट लगाउने, विषादी हाल्ने जस्ता कुनै पनि तरिकाले आँधीखोलामा माछा मार्न समेत बन्द गरेको गाउँपालिकाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्