Logo

प्रधानमन्त्रीले आह्वान गरेको सर्वदलीय बैठकमा एमाले नजाने



काठमाडौं, पुस ४ । संसद्को जारी अवरोध हटाउन र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को बारेमा साझा धारणा बनाउन आज सर्वदलीय बैठक बोलाईएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा संसद्को गतिरोध अन्त्य गर्ने विषयमा छलफल हुने जनाईएको छ । पुस ६ गते दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठकमा एमालेलाई अवरोध नगर्न आजको बैठकबाट आग्रह गर्ने तयारी रहेपनि प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) भने सर्वदलीय बैठकमा सहभागी नहुने भएको छ । एमालेले असोज १४ गते बोलाएको सर्वदलीय बैठक पनि बहिष्कार गरेको थियो ।

शुक्रबार प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको थियो । उक्त भेटवार्तामा संसद् बैठक चालु गर्न र एमसीसीको बारेमा साझा धारणा बनाउन सर्वदलीय बैठक बोलाउन सहमति भएको स्रोतले जनाएको छ । एमालेले भने प्रधामन्त्री देउवाले बोलाएको सर्वदलीय बैठकमा सहभागी नहुने यसअघिको अडान कायमै राखेपछि साझा धारणा बनाउने प्रयास भने बैठक अघि नै अनिश्चित देखिएको छ ।

गत भदौ २९ गते सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक पनि एमालेले बहिष्कार गरेको थियो । आफ्नो दलले कारबाही गरेका १४ सांसदको सूचना सभामुख अग्निप्रसाद सापकोटाले टाँस नगरेका कारण रुष्ट बनेको एमालेले प्रतिनिधिसभाको नवौं अधिवेशनदेखि बैठक अवरुद्ध गर्दै आएको छ ।

गत मंसिर २८ गतेदेखि शुरू भएको प्रतिनिधि सभाको हिउँदे अधिवेशनको पहिलो बैठक पनि एमालेले अवरोध गरेको छ ।



प्रतिक्रिया दिनुहोस्