Logo

बैशाखमै स्थानीय तहको निर्वाचन गर्ने प्रधानमन्त्री देउवाको तयारी



काठमाडौं, ५ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले बैशाखमै स्थानीय तहको निर्वाचन गराउनेगरि आफू प्रतिबद्ध रहेको बताएका छन् । महान्यायाधिवक्ता खम्मबहादुर खातीले प्रधानमन्त्री देउवासँग निर्वाचनकेन्द्रित छलफल गरेका थिए ।

उक्त छलफलमा प्रधानमन्त्री देउवाले संविधानले निर्देशन गरेबमोजिम समयमै स्थानीय तहको निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको बताएका थिए । यसअघि स्थानीय तहको निर्वाचन बैशाखमै गर्नको लागि सरकारले आलटाल गरेको समाचार आएका थिए ।

खासगरी सत्तापक्षीय गठबन्धनमा बैशाखमा स्थानीय तहको निर्वाचन गर्नेबारे समान धारणा नभएको र मंसिरमा तीनै तहको निर्वाचन गराउनेबारे छलफल भएको कुरा बाहिर आएको थियो ।

आजमात्रै रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा एमाले नेता आनन्द पोखरेलले बैशाखमै स्थानीय तहको निर्वाचन गर्नेगरि मिति घोषणा नगरे सडक संघर्ष गर्ने चेतावनी दिएका थिए ।

उनले आफूहरु चुनावको पक्षमा रहेको भन्दै सरकार किन चुनावबाट भाग्न खोजेको ? भनेर प्रश्न उठाएका थिए । तर, प्रधानमन्त्री देउवाले भने निर्वाचनको हकमा संविधान वा कानूनको परिधिभन्दा एक दिन पनि बाहिर नजाने धारणा राखिसकेका छन् ।

सोहीअनुसार बैशाखमै स्थानीय तहको निर्वाचन गराउनेगरि आवश्यक तयारी थालिने देउवाको भनाई छ । भोलि बस्ने उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकमा स्थानीय तहको निर्वाचनबारे ठोस निर्णय लिईने गठबन्धनमा आवद्ध दलका एक नेताले जनाए । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्