काठमाडौं, ११ माघ । नेपाल भ्यालुयर्स एशोसियसनका अध्यक्ष एवं नेपाल इन्जिनियरर्स एशोसियसनको ३३औं कार्यकारिणी समितिमा उपाध्यक्षका उम्मेदवार ई.ऋषि कोइरालाले लोकसेवा आयोगले इन्जिनियरका लागि छैटौ तहमा बिज्ञापन निकाल्नु ईन्जिनियरहरु प्रतिको अपमान भएको भन्दै तत्काल ७औ तह कायम गरि पेशागत सम्मान कायम गर्न माग गरेका छन् ।
कोइरालाले सामाजिक सञ्जालमा लोकसेवा आयोग र सरोकारवाला निकायको ध्यानाकर्षण गराउदै माघ १० गते आयोगले खुलाएको इन्जिनियर पदको बिज्ञापनमा छैटौ तहका लागि आवेदन माग गरेकोमा आपत्ति जनाएका हुन् ।
उनले लोकसेवा आयोग र सरोकारवाला निकायको ध्यानाकर्षण गराउदै चेतावनी सहित लेखेका छन्,‘यस अघि विभिन्न मितिमा इन्जिनियर पदको लागि खोलिएका बिज्ञापन र यहि २०७८ माघ १० गते लोकसेवा आयोगले खोलेको इन्जिनियर पदको बिज्ञापनमा छैटौ तहका लागि आवेदन माग गरेको कुरा प्रति हाम्रो घोर आपत्ति छ । ७औं तहमा इन्जिनियरहरुका लागि आवेदन माग गरिनुपर्नेमा लोकसेवा आयोगले हाम्रो पेशालाई अबमुल्यन गरि पेशागत मर्यादा र सम्मानमा आच आउने गरि छैटौ तहमा इन्जिनियरलाई सिमित गरिनु घोर निन्दनीय छ ।’
तत्काल इन्जिनियरहरुको पेशागत मर्यादा र सम्मानलाई ध्यान पुर्याउदै इन्जिनियरहरुको बिज्ञापन ७औ तह कायम गर्न उनले माग गरेका छन् । अन्यथा हजारौ इन्जिनियरहरु आफ्नो पेशागत हक, अधिकारका लागि संघर्ष गर्न बाध्य हुने पनि अध्यक्ष कोइरालाले चेतावनी दिएका छन् । लोकसेवा आयोग, सम्बन्धित सरोकारवाला निकायहरुलाई विशेष ध्यानाकर्षण सहित सचेत गराउनुपर्नेमा उनले जोड दिएका छन् ।