काठमाडौं, १४ माघ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आगामी स्थानीय तहको निर्वाचनमा अहिलेको सत्तारुढ पाँच दलीय गठबन्धनबाहेक अन्य दलहरुसँग सहकार्य गर्ने भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि आगामी स्थानीय तहको निर्वाचनलाई लिएर अहिलेदेखि नै गठबन्धन बनाउनेबारे छलफल थालेका छन् ।
यही माघ १२ गते भएको राष्टियसभाको निर्वाचनमा पनि एमालेले महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी र राजेन्द्र लिङदेन नेतृत्वको राप्रपासँग गठबन्धन गरेको थियो । अहिले स्थानीय तहको निर्वाचन तोकिएकै समयमा गर्नुपर्ने आवाज उठेको छ ।
उता, सत्ता गठबन्धनले भने स्थानीय तहको निर्वाचन केही पर धकेल्नेगरि छलफल चलाएको छ । एमालेले पनि स्थानीय तहको निर्वाचनको मिति तत्काल घोषणा गर्न सरकारसमक्ष माग गरेको छ । तत्काल स्थानीय तहको मिति घोषणा नगरिए आन्दोलन गर्नेसम्म एमालेले चेतावनी दिएको छ ।
तर, एमाले अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको पछिल्लो वक्तव्यमा जुनसुकै बेला निर्वाचन भएपनि आफ्नो पार्टी उक्त निर्वाचनको सामना गर्न तयार रहेको बताएका थिए । एमालेले स्थानीय तहको निर्वाचनमा महन्थ ठाकुर नेतृत्वको लोसपादेखि सिके राउत नेतृत्वको जनमत पार्टीम्म चुनावी तालमेल गर्ने तयारी गरेको स्रोतको दाबी छ ।
हुन त एमाले शीर्ष नेताहरुले अब हुने चुनावमा एमाले एक्लै लड्ने उद्घोष गरिरहेका छन् । यसको साथै नेतृत्वले भने भित्रभित्र पाँच दलीय गठबन्धनलाई चूनौति दिनेगरि अर्को गठबन्धन बनाउने तयारी गरेको छ । यसको लागि एमाले नेतृत्वले चुनावी तालमेल गर्न लागेका दलका नेताहरुसँग छलफल पनि गरिरहेको छ ।
विश्वस्त सूत्रले दिएको जानकारीअनुसार एमालेले लोसपा, जनमत पार्टी, राप्रपादेखि विप्लव नेतृत्वको नेकपासम्म चुनावी तालमेल गर्न लागेको छ। file photo