माघ १६, काठमाण्डौ । व्यवस्था परिवर्तनका लागि देशको केन्द्रबाट सुरु भएको आन्दोलनको झिल्कोले तनहुँ पुलिमराङका छ जनालाई शहिद बनायो । व्यवस्थासँगै जहानियाँ राणा शासन र पञ्चायत व्यवस्थाबाट मुक्त गर्ने आन्दोलनमा होमिएर धर्मध्वज गुरुङ, लालध्वज गुरुङ, शमशेरबहादुर गुरुङ, भरत गुरुङ, सर्वसिंह गुरुङ र हस्तवीर गुरुङले बलिदानी दिए ।
उनीहरुको बलिदानीको सम्मानमा अहिले पनि तनहुँको पुलिमराङमा सालिक ठडिएको छ । त्यहाँ पुग्ने जोकोहीलाई उनीहरुको बलिदानीले उत्साह प्रदान गर्छ । तर एउटै गाउँबाट यतिका संख्यामा शहिद जन्माएको व्यास नगरपालिका ८ पुलिमराङ र शहिदका परिवारसँग अहिले गर्विलो शब्द भन्दा धेरै गुनासा छन् ।
सदरमुकाम दमौलीबाट निकै परको गाउँ पुलिमराङको शिरानमा यी शहीदहरुको अर्धकद सहितको सालिकलाई संरक्षण गर्न स्मारक निर्माण गर्नु बाहेक अन्य केही नभएको यहाँका स्थानीयहरुको गुनासो छ ।
‘शहिदको गाउँ÷ठाउँ भनेर सवैतिरबाट चर्चा हुन्छ तर त्यही अनुसारको विकास भने हुन सकेन ।’ स्थानीय खड्कबहादुर गुरुङले भने ‘शहिदको नाम लिएर हाम्रा नेताहरुले धेरै पटक भ्रममा पारेर चुनाव जिते पनि यहाँको वास्ता कसैलाई भएन ।’ टोल विकास संस्थाका सदस्य समेत रहेका उनले आफ्ना अग्रजहरुले यो राज्यलाई दिएको योगदानको सम्मान हुनुपर्ने बताए ।
तत्कालिन राणाको निरकुंश शासन विरुद्ध लागेका यहाँका धर्मध्वज गुरुङ प्रजातन्त्र ल्याउन भूमिका खेल्दा २००७ साल माघ १ गते बन्दिपुरमा शहिद हुदाँको क्षण अझै पनि पुलिमराङका बृद्ध टेकबहादुर गुरुङलाई याद छ ।
नागरिक स्वतन्त्रताको सपना बोकेर आन्दोलनमा होमिएका यहाँका छ शहिदका परिवार अझैसम्म पनि राज्यको नजरमा नपर्नुले यहाँका टेकबहादुरहरुलाई दुख लाग्दछ । सर्वस्व गुमाएर सजाय भोगेका शहिदका परिवारको दुखको साक्षी उनले सरकारबाट कुनै न कुनै प्रकारले पहिचान दिईनुपर्ने माग गरे । ‘यि शहिद परिवारले पनि केही न केही सहुलियत त पाओस न, यो शहिदको छोरा हो शहिदको श्रीमती हो भन्ने केही पहिचान पनि भएन ।’ उनले भने ‘शहिद परिवारको सदस्य पहिचान हुने प्रावधान बनाईए पनि चित्त बुझ्थ्यो ।’ शहिद परिवारलाई सरकारले अपहेलना गरेको गुनासो गर्दै उनले शहिद स्मारक बनाउन समेत चासो नदिएको बताए ।
तत्कालिन पञ्चायति व्यवस्थाको विरुद्धमा लागेकै कारण पुलिमराङमै गोलि हानेर हत्या गरिएका शहिद भरत गुरुङको विरासतमा उनको पुस्ता अझै संघर्ष गरिरहेका छन् । शहिद परिवारका सदस्य औषत जीवन जिउँनकै लागि संघर्ष गर्नुपर्ने अवस्थामा रहेको भुपालजंग गुरुङ्गले बताए । शहिद भरतका नाती भुपालले आफ्नो पुस्ता खाडीमा परिश्रम गर्न जानुपर्ने बाध्यता रहेको बताउँछन् । हजुरबुवा शहिद भएपछि नै आफुहरुको दुखका दिन सुरु भएको दावि गर्ने उनले खाडीमा शहीदको परिवारको सदस्य हुँ भन्दा समेत अफ्ट्यारो लाग्ने गरेको अनुभव सुनाए । ‘तिमी शहीदको नाति र हामीमा के फरक छ त ?’ साथीहरुकोले भन्ने गरेको स्मरण गर्दै उनले भने ‘सेवा–सुविधाको आशा होईन तर पहिचान भईदिए हुन्थ्यो जस्तो लाग्छ ।’
शहीद परिवारका सदस्यले राम्रो शिक्षाकै लागि समेत संघर्ष गर्नु परेको अवस्थाका कारण पछिल्ला पुस्तासम्म असर परेको उनको बुझाई छ । सामान्य शैक्षिक योग्यता राख्ने उनले शहीद अर्थात आफ्नो पुर्खाले व्यवस्था परिवर्तनका लागि खेलेको भूमिकालाई राज्यले विर्सिए पनि राष्ट्रकवि स्व. माधवप्रसाद घिमिरेले लेखेको कविताका हरफहरु भने सम्झीरहेको सुनाए ।
पुलिमराङमा १९८४ मा जम्मिएका धर्मध्वज गुरुङ २३ बर्षको उमेरमा प्रजातन्त्र ल्याउन आन्दोलनमा होमिएका बखत बन्दिपुरमा शहीद भएका थिए भने शहीदहरु ३६ बर्षीय लालध्वज गुरुङ, ३६ बर्षकै सर्वसिंह गुरुङ र २८ बर्षीय हस्तवीर गुरुङलाई पञ्चायती ब्यवस्था विरुद्धको आन्दोलनमा लागेको अभियोगमा तनहुँ र कास्कीको सिमाना कोत्रे खोलामा निर्मम हत्या गरिएको थियो ।
यस्तै सोेही आन्दोलनमा लागेको भन्दै यहाँका ३४ बर्षीय शमशेर बहादुर गुरुङलाई चितवनको भरतपुर र ४१ बर्षीय भरत गुरुङलाई पुलिमराङमा गोलि हानेर हत्या गरिएको थियो । पुलिमराङमा उनीहरुको सम्झना स्वरुप सरकारले तीन दशक अघि देखि निर्माण थालनी गरेको स्मारक अझै पूर्ण बन्न सकेको छैन । यहाँ हरेक बर्ष माघ १६ गते व्यास नगरपालिकाले अल्ट्रा म्याराथन सहित शहिद दिवस विशेष कार्यक्रम गर्दै आएको छ । यो बर्ष कोरोना माहामारीका कारण अल्ट्रा म्याराथन प्रतियोगिता स्थगित गरिएको व्यास नगरपालिकाले जनाएको छ ।
राणा शासनको बिरुद्वमा नेपालि कांग्रेस तनहुका धेरै गुरुङहरुले बलिदान दिएको इतिहास छ । हरेक वर्ष शहीदहरुको नाममा शहिद दिवस मनाइदै गर्दा कांग्रेसमा लागेका तनहुँको गुरुङहरुको सहि मुल्यङकन हुन नसकेको गुनासो पाइन्छ ।
राणा शासनको बिरुद्वमा नेपाली काग्रेस तनहुका धेरै गुरुङहरुले बलिदान दिएको भए पनि अहिले तिनै गुरुङ समुदायलाई उपेक्षा गरिएको छ ।
हुन पनि हो, हरेक वर्ष शहीदहरुको नाममा दिवस मनाइदै गर्दा कांग्रेसमा दुःख गरेका तनहुका गुरुङहरुको सहि मुल्यङकन हुन नसकेको हो ।
-तनहुँबाट अशोक विश्वकर्माको सहयोगमा