Logo

सङ्घीयतालाई थप सुदृढ बनाउन प्रदेश प्रमुख शर्माको आग्रह



मकवानपुर, १८ माघ: बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले बागमती प्रदेशसभाले सङ्घीयतालाई थप सुदृढ बनाउँदै आम नागरिकमा यसको औचित्य, सान्दर्भिकता र गरिमालाई बढाउनको लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् ।

बागमती प्रदेशसभाको चौथो वार्षिकउत्सवका अवसरमा आज सम्बोधन गर्दै उनले २०७४ साल माघ १८ गते प्रदेशसभाको पहिलो अधिवेशन बसेदेखि आजसम्म प्रदेशसभाबाट ६१ वटा विधेयक पारित हुनुका साथै महत्वपूर्ण निर्णय भएको छ भने ।

उनले प्रदेशको सामान्य प्रशासन, सुशासन र शान्ति सुरक्षालाई व्यवस्थित एवं विश्वासनीय बनाउने जनशक्तिलाई दृढ तथा सशक्त गराउन आवश्यक आधार तयार गर्ने जिम्मेवारी पनि यही प्रदेशसभाको नै भएको बताए । यसबाट मात्र नेपाली जनताले चाहेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सबलीकरण, न्याय, समानता र मानव अधिकारको सुदृढिकरण हुने उनले विश्वास व्यक्त गरे ।

प्रदेशसभाले आगामी दिनमा पनि आफ्नो कार्य प्रणालीलाई व्यवस्थित गरी प्रदेशका महत्वपूर्ण विषयमा विधि निर्माण गरी प्रदेशको समृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनले विश्वास व्यक्त गरे । उनले प्रदेशस्तरका जनताको जनजीविकाको सवाललाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा सरकारले नियमित छलफल गरी समुचित योजना तर्जुमा गर्नु अत्यावश्क रहेको बताए ।

उनले प्रदेश सरकारप्रति जनताको आकांक्षा र भरोसामा कुनै किसिमको कमी आउन दिन नहुने बताउनुहुँदै यस प्रकारका आकांक्षा र विश्वासलाई व्यवहारमा मूर्त रुप दिनको लागि प्रदेश सरकारका नीति, कार्यक्रम बजेट लगायतका विषयमा जनताको हित र न्यायका पक्षमा केन्द्रीत रहन प्रदेशसभा सधैँ सचेत र क्रियाशील हुन आवश्यक भएको उल्लेख गरे ।-रासस



प्रतिक्रिया दिनुहोस्