मकवानपुर, १८ माघ: बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेशमा मन्त्रालय विभाजन गर्नुको औचित्य चाँडै पुष्टि हुने बताएका छन्। बागमती प्रदेशसभाको चौथो वार्षिकउत्सवका अवसरमा आज सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले यस्तो बताएका हुन्।
उनले चाँडै प्रदेशमा मन्त्रालय विभाजन गर्नुको औचित्य पुष्टि हुने समेत बताए । उनले भने “प्रदेश सरकारले मन्त्रालय विभाजन गर्यो भनेर, विभिन्नस्तरमा टिक्का टिप्पणी भइरहेको छ भन्ने सुनिन्छ, हामीले मन्त्रालय विभाजन भागबण्डा मिलाउन होइन, जनताप्रति प्रदेश सरकारको उत्तरदायित्व धेरै भएकाले तीव्र गतिमा काम गर्न मन्त्रालय विभाजन गरेका हौँ । र, त्यसको औचित्य चाँडै पुष्टि हुनेछ । कहीँकतै कसैले शङ्का उपशङ्का गरिरहन जरुरी छैन ।”
प्रदेशसभा सञ्चालनको सन्दर्भमा सभामुख सानुकुमार श्रेष्ठले सबै राजनीतिक दलसँग समन्वयकारी भूमिका निर्वाह नगरेको उनले आरोप लगाए । उनले वर्तमान सरकारको काम गर्ने अवधि निकै थोरै भए तापनि जनताप्रतिको उत्तरदायित्व धेरै भएकोले सबै मिलेर जनहितका काममा लागि पर्नुपर्ने बताए । उनले कहीँकतै कमी कमजोरी भएका छन् भने आ–आफ्नो ठाउँबाट समीक्षा गर्दै सुधार्नु पर्ने र सबैको उद्देश्य समग्र प्रदेशको विकास नै हुनुपर्ने बताए ।
उनले कोरोनाको महामारीबाट जनतालाई जोगाउनेदेखि प्रदेशमा बन्द अवस्थामा रहेका उद्योग धन्दा सञ्चालनमा ल्याउने, रासायनिक मल कारखाना खोल्ने, राष्ट्रिय गौरवको आयोजनाको कार्यमा प्रदेश सरकारले सक्रिय ढङ्गबाट कार्य अघि बढाइरहेको बताए ।
त्यसैगरी कार्यक्रमको सभाध्यक्षसमेत रहेका सभामुख श्रेष्ठले आफूले सबै राजनीतिक दल र सत्तापक्ष वा प्रतिपक्ष कसैलाई पनि पूर्वाग्रही ढङ्गबाट नभइ समान रुपमा हेरेको स्पष्ट पारे । उनले प्रदेशसभा सुचारु गर्ने, प्रदेश सरकार सञ्चालनको लागि आवश्यक नीति निर्माण गर्ने, राष्ट्रिय गौरवको आयोजना कार्यान्वयन गर्ने, समग्र प्रदेशको विकासका काम गर्ने सन्दर्भमा आफू सदैव सहयोगीको रुपमा रहेको बताए ।
कार्यक्रममा बागमती प्रदेशसभाका उपसभामुख राधिका तामाङ, मन्त्री, प्रदेशसभा सचिवालयका सचिव, विभिन्न मन्त्रालयका सचिव, उच्च पदस्थ कर्मचारीलगायतको उपस्थिति रहेको थियो ।-File Photo