Logo

भाले नहुँदा सङ्कटमा घडियाल



कसरा (चितवन), माघ १९ । घडियाल गोहीको सङ्ख्या बढाउन प्रजनन केन्द्रमा काम गर्नेका लागि भाले गोही समस्या भएको छ । दुर्लभ जलचर घडियालको भाले कम जन्मने हुँदा यसले सङ्ख्या वृद्धिमा पनि असर गरेकोे विज्ञहरूको निष्कर्ष छ ।

घडियालविज्ञ वेदबहादुर खड्का घडियाल भालेको जन्म नै दुर्लभ हुने बताउन्छन् । “घडियाल भालेको जन्म नै दुर्लभ छ,” उनले भने “पोथीको तुलनामा भाले कम जन्मँदा भालेको अभाव हुने गर्छ ।” भाले नभएकै कारण गोहीका अन्डा नै बतासे (बच्चा जन्माउन नसक्ने) हुने गरेको पनि उनले जनाए ।

“भाले नलागेका अन्डा बतासे हुन्छन्, त्यसबाट बच्चा कोरल्न सकिँदैन,” विज्ञ खड्का भने, “भालेकै अभावमा अघिल्लो वर्ष घडियाल प्रजनन केन्द्रमै तीन सय अन्डा बतासे भएर फाल्नु परेको थियो ।” नदी किनारका बालुवामा भएका गोहीका गुँडमै भेटिने अन्डा पनि नकोरली बतासे हुनुमा भाले नलागेकै प्रमुख कारण भएको उनको निष्कर्ष छ ।

विज्ञका अनुसार घडियालमा भाले पोथी छुट्टयाउने आधार भनेकै गोहीको ठुँडोमा हुने घडीजस्तो बनावट हो । त्यो भएको भाले र नभएको पोथी हुन्छ । गोहीको भाले वा पोथी जन्म गोहीको अन्डा रहेको गुँडको तापक्रममा भर पर्छ । “गोहीले बालुवामा गुँड बनाउँछ, त्यो गुँडको तापक्रम ३० देखि ३२ डिग्री भयो भने भाले जन्मने सम्भावना बढी हुन्छ,” घडियाल प्रजनन केन्द्रका पूर्वप्रमुखसमेत रहेका खड्काले भने, “सामान्य अवस्थामा तापक्रमको सन्तुलन नमिल्दा पनि भालेको जन्म कम भएको हो ।”

पुसदेखि फागुनसम्म घडियालको भाले लाग्ने मौसम हो । पानीभित्र भाले र पोथी पुच्छर जोडेर सहबास गर्छन् । यिनीहरूको प्रजनन अङ्ग पुच्छरसँगै हुन्छ । भाले लागेको पोथी घडियालले वैशाख जेठमा अन्डा पार्छ । अन्डा कोरलेर बच्चा जन्माउन घडियाललाई ६५ देखि ९० दिन लाग्छ । यही अन्डा कोरल्ने बेलाको तापक्रमकै आधारमा भाले पोथी जन्मन्छ ।

यसरी जन्मिएको गोही १५ देखि ५० वर्ष उमेरसम्मका लागि प्रजननयोग्य मानिन्छ । विश्वमै दुर्लभ मानिएको घडियाल नेपाल र भारतमा मात्रै पाइने सरिसृप हो । सन् २०२० को गणनाअनुसार चितवनको राप्ती नदीमा ११८ र नारायणी नदीमा १०१ गोही छन् तर अहिले यो सङ्ख्या केही बढेको अनुमान विज्ञहरूको छ । राप्ती र नारायणीमा गरी २४० देखि २५० घडियाल गोही रहेको विज्ञहरूको दाबी छ । तीमध्ये भाले पाँचवटा मात्र भएको बताइन्छ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्