काठमाडौं, २२ माघ । मोरङ र ललितपुरमा गरी तीनजना व्यवसायीको हत्यामा संलग्न थप दुईजना पक्राऊ परेका छन् । पक्राउ पर्नेहरुमा सुनसरीको देवानगन्ज ६ का १८ वर्षीय हकिम मन्सुरी र मोरङको रंगेली ३ का ३० वर्षीय महमद सुभाम छन् ।
दुवैजना खाडल खनेर शव गाड्न संलग्न भएको प्रहरीले जनाएको छ । उखुबारीमा शव गाड्न सलग्न भएका उनीहरुबारे प्रहरीले बिहिबार पक्राउ परेकाहरुको बयानबाट पत्ता लगाएको थियो ।
ललितपुरमा मोहनप्रसाद लिम्बूको २८ मंसिरमा, मोरङमा राजेन्द्रप्रसाद श्रेष्ठको ५ पौषमा र शम्भुनाथ चौधरीको ७ पौषमा एकै समूहले हत्या गरेको थियो । हत्याका मुख्य योजनाकार अनिलकुमार मण्डल सबैभन्दा पहिले पक्राउ परेका थिए । उनको बयानका आधारमा थप ४ जना पक्राउ परेका छन् ।
हत्यामा ८ जनाभन्दा बढी संलग्न भएको सूचनाका आधारमा प्रहरीले अन्यको पनि खोजी गरिरहेको बुझिएको छ । हत्यामा संलग्नहरु पेशेवर अपराधी रहेको खुलेको छ । हत्याका लागि पक्राउ परेका अमित साहले ३ लाख बैना नै लिएको खुलेको छ ।
साहले हत्याको जिम्मा लिएर नासिर आलमसहित बाँकी अभियुक्तहरुलाई पैसा दिएर जोडेको प्रहरीले खुलाइसकेको छ । योजनावद्ध रुपमा ललितपुरको ठेचोमा घर भाडामा लिई सुरुमा मोहनप्रसाद लिम्बूको हत्या गरेका थिए ।
हत्या कमिशनवापतको रकम विवाद नै रहेको खुलेको छ । तर, प्रहरीले जग्गा कारोबारसम्बन्धी धेरै विषयहरुबारे गहिरो अनुसन्धान गरिरहेको जनाएको छ ।
बैंकले लिलाम गरेको जग्गा उकास्न ४ जनाले कमिशन लिने गरी सहमति गरेको समेत खुलेको छ । यसबाहेक ललितपुर र मोरङमा जग्गा प्लटिङमा समेत साझेदार रहेको र कमिशनमा विवाद रहेको खुलेको छ । विशेषगरी हरिसिद्धको जग्गा नै मुख्य विवादको विषय बनेको छ ।