काठमाडौं, २३ माघ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज बालुवाटार जाने भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्नुभन्दा अघि ओलीसँग सल्लाह गर्न बोलाएपछि ओली आज बालुवाटार जान लागेका हुन् । प्रधानमन्त्रीबाट हटेपछि ओली पहिलोपटक आज बालुवाटार जान लागेका हुन् ।
प्रधानमन्त्री देउवा र ओलीबीच एक्लाएक्लै भेटवार्ता हुने चर्चा छ। अमेरिकी सहयोग सम्झौता एमसीसी संसद्बाट पारित गराउनेगरि प्रधानमन्त्री देउवाले आफूलाई सक्रिय तुल्याएका छन् । सत्ता गठबन्धनमा एमसीसीको कारण खटपट सुरु भएको छ ।
यसअघि नै प्रधानमन्त्री देउवाले एमसीसी पास नगराउने हो भने आफूले गठबन्धन तोड्ने र एमालेको सहयोग लिएर पास गराउने गठबन्धनका नेताहरुलाई चेतावनी दिईसकेका छन् । आजमात्रै प्रधानमन्त्री देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संयुक्त रुपमा अमेरिकालाई लेखेको पत्र सार्वजनिक भएको छ।
उनीहरुले गत सेप्टेम्बरमा एमसीसीको नाममा पत्राचार गरेर ४÷५ महिना पर्खन आग्रह गरेका थिए । उता, एमसीसीले पनि यही फेब्रुअरी ३ मा प्रधानमन्त्री देउवा र प्रचण्डलाई पत्र लेख्दै यही फेब्रुअरी २८ तारिखसम्म एमसीसी पास गर्ने वा फेल गर्ने भन्नेबारे निर्णय लिईसक्न भनेको छ ।
यी दुवै पत्र बाहिरिएपछि प्रचण्डले प्रधानमन्त्री देउवालाई फोन गरेर आफूहरु सरकारबाट बाहिरिने बताईसकेको कुरा आएको छ । उनले प्रधानमन्त्री देउवासँगको कुराकानीमा आफूहरु सरकारबाट बाहिरिने तर एमसीसी पास नगर्ने जवाफ दिएको स्रोतको दाबी छ । प्रधानमन्त्री देउवाकै योजनाअनुसार एमसीसीसँगका पत्र सार्वजनिक भएको भन्दै प्रचण्डले आक्रोश पोखेका छन् ।
प्रमुख प्रतिपक्षी दल एमालेले भने एमसीसीमा सुरुदेखि नै पक्षमा आफूलाई उभ्याएँदै आएको छ । यसअघि प्रधानमन्त्री हुँदा ओलीले एमसीसी पास गराउनुपर्ने संसद्मै सम्बोधनको क्रममा बोलेका थिए । उनले एमसीसीलाई अस्त्र बनाएर सत्ता गठबन्धन फुटाउनेगरि आफ्नो कदम चालिरहेका छन् ।
एमालेले एमसीसी पास गराउनको लागि सहयोग गर्ने वचन प्रधानमन्त्री देउवालाई दिईसकेको छ । यदि एमसीसी अघि बढाउन सभामुख अग्निप्रसाद सापकोटा बाधक बने उनलाई महाभियोग लगाएर हटाउनेसम्मको उनीहरुको तयारी छ ।