Logo

‘प्रचण्डमाथिको प्रहार व्यवस्था समाप्त पार्ने षड्यन्त्र’



काठमाडौं, २५ माघ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिकी सहयोग नियोग एमसीसी सम्झौताको कारण अहिले अप्ठ्यारोमा परेका छन् । एमसीसीलाई गरेको पत्राचार र बाहिर सार्वजनिक रुपमा एमसीसी यथास्थितिमा संसद्बाट पारित गर्न नसकिने भनेर दिएको अभिव्यक्तिमा समानता नदेखिएको भन्दै दाहालको अहिले आलोचना भैरहेको छ ।

तर, दाहालको सचिवालयले भने गठबन्धनको सरकारको रक्षार्थ अध्यक्ष दाहालले एमसीसीलाई पत्र लेखेको स्पष्ट पारिसकेको छ । उक्त स्पष्टीकरणमा भनिएको छ,‘प्रतिगमनलाई परास्त गरि भर्खरै गठबन्धन सरकार निर्माण भएको समयमा प्रधानमन्त्रीमाथि एमसीसी पारित गर्नैपर्ने दबाब भएकोले राष्ट्रिय हित तथा गठबन्धन र सरकारको रक्षाको लागि उक्त पत्र लेखिएको थियो । र, पत्रमा एमसीसीका लागि राष्ट्रिय सहमति आवश्यक हुने र राष्ट्रिय सहमति निर्माणका लागि सरकारलाई केही समय आवश्यक पर्ने कुरा उल्लेख गरिएको हो ।’

एमसीसीकै कारण प्रचण्ड संकटमा परेको भन्ने दाबीमा भने माओवादी केन्द्रका नेताहरु सहमत छैनन् । हिजो (सोमबार) राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता नारायणप्रसाद दाहालले उक्त भनाईमा कुनै सत्यता नभएको भन्दै यसलाई मिडियाबाजीको संज्ञा दिए । उनले भनेका थिए,‘यो मिडियामा हो, मिडियाबाजी हो, विभिन्न खालको मिडियाको आफ्नो आफ्नो कुरा होला, तर आन्तरिक कारणले वा एमसीसीको कारणले गठबन्धन टुट्दैन् । एमसीसी पारित गर्ने नि नगर्ने भनेर गठबन्धन भएको होईन ।’ प्रतिगमनलाई परास्त गर्नको लागि अहिलेको पाँच दलीय गठबन्धन बनेको भन्दै यो अहिले नभत्किने उनको दाबी छ ।

दाहालले अघि भनेका छन्–यो देशमा प्रचण्ड यस्तो व्यक्ति बन्न पुग्यो, कि राजनीतिको केन्द्रमा सधैं रहने, अरुले बोल्दा पात पनि हल्लिँदैन् । प्रचण्ड जब बोल्यो, अनि दशतिरबाट चिथोर्ने र कोतर्ने, चिजहरु ीनकालेर खोज्ने, यसमा प्रचण्डसँग म गर्व गर्छु ।

उता, माओवादी केन्द्रका नेता माात्रिका प्रसाद यादवले आफ्नो पार्टीको अध्यक्ष प्रचण्डले एमसीसी पारित गर्ने भनेर नभनेको जिकिर गरे । माओवादी केन्द्र कुनै धर्मसंकटमा नरहेको पनि उनको दाबी छ। ऋषि धमलासँगको कुराकानीमा उनले भने,‘हामी जुन अवस्थामा छौं, त्यही अवस्थामा हिँडिरहेका छौं । गठबन्धन बनाउने अध्यक्ष प्रचण्ड हो।’ प्रधानमन्त्री शेरबहादुर देउवालाई गठबन्धन नचाहे आफूहरु अलग हुने उनको भनाई छ । उनले नेपालको राजनीतिक ईतिहासमा नैतिकताको राजनीति प्रचण्डमात्रै गरेको पनि स्मरण गराए ।

आजमात्रै प्रचण्डले देशभित्र र बाहिरका प्रतिक्रियावादीहरूले घेरा हालेर माओवादीलाई सखाप पार्न खोजिरहेको टिप्पणी गरेका छन् । उनले माओवादीलाई देशभित्र र बाहिरका प्रतिक्रियावादीहरू कसरी घेरा हालेर सखाप पार्न सकिन्छ भनेर लागिरहेको बताएका हुन् । एमसीसीलाई लेखेको पत्रलाई लिएर उनीमाथि चौतर्फी आक्रमण भैरहेको बेलामा दाहालको यस्तो अभिव्यक्ति आएको हो ।

नेपालको राजनीतिमा प्रचण्डको छबि गतिशिल नेताको रुपमा बनेको छ । उनी जस्तोसुकै जोखिम मोल्न पनि तयार छन् । सशस्त्र जनयुद्धलाई शान्तिमा रुपान्तरण गर्नदेखि संविधानसभाबाट संविधान बनाउनसम्म प्रचण्डले नेतृत्वदायी भूमिका खेल्दै आएका छन् ।

सरकार बनाउने र ढाल्नेसम्म उनको भूमिका निर्णायक थियो । नेपालमा सबैभन्दा धेरै प्रधानमन्त्री बनाउनको लागि उनले नै महत्वपूर्ण भूमिका खेलेका छन् । संविधान जारी हुनुभन्दा अघि र जारी भएपछि पनि सरकार फेरबदलमा उनको भूमिका निर्णायक सावित भयो । झलनाथ खनाल, बाबुराम भट्टराई, खिलराज रेग्मी, केपी शर्मा ओली, शेरबहादुर देउवासम्मलाई प्रचण्डले नै प्रधानमन्त्री बनाएका हुन् ।

प्रधानमन्त्री बन्दै गर्दा संसद्मा ओली र देउवाले त प्रचण्डलाई राजनेताको रुपमा प्रस्तुत गरेका थिए । पछिल्लो समय देउवालाई प्रधानमन्त्री बनाउनको लागि पनि प्रचण्डले नै निर्णायक कदम चालेका थिए ।

ओलीले दुई–दुई पटक संसद् विघटन गर्दा त्यसको विरुद्धमा भएको सडक संघर्षको नेतृत्व उनै दाहालले गरेका थिए । माओवादी केन्द्रको हालै सम्पन्न भएको महाधिवेशनमा समेत प्रधानमन्त्री देउवाले प्रचण्डको बयान गरेका थिए । उनले प्रचण्डकै नेतृत्वमा संविधानसभाबाट संविधान जारी गर्न सफल भएको बताएका थिए ।

अमेरिकी सहयोग सम्झौता एमसीसीको कारण प्रचण्डमाथि दबाब सिर्जना भएको भनिएपनि माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरु भने प्रचण्डलाई प्रहार गरेर अहिलेको व्यवस्था नै समाप्त पार्न षड्यन्त्र भैरहेको दाबी गर्छन् । नारायण दाहालले पनि यही कुरा पत्रकार धमलासँगको अन्तर्वार्तामा दोहोर्याएका छन् ।

Related News:



प्रतिक्रिया दिनुहोस्