काठमाडौं, २७ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को पदाधिकारी बैठक सुरु भएको छ । पार्टी कार्यालय धुम्बाराहीमा बैठक सुरु भएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाले गत मंगलबार पार्टी परित्याग घोषणा गरेपछि राप्रपाले पदाधिकारी बैठक डाकेको हो ।
पार्टीभित्रको गुट/उपगुट अन्त्य र पार्टीलाई सम्भावित विभाजनबाट कसरी जोगाएर आगामी निर्वाचनमा सफलता कायम गर्ने भन्ने विषयमा छलफल गरिने जनाईएको छ । राप्रपामा अध्यक्षसहित निर्वाचित ७ तथा मनोनित २४ गरी ३१ पदाधिकारी छन् । बैठकमा पूर्व अध्यक्षहरु पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनी पनि सहभागी छन् ।
तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम