काठमाडौँ, २८ माघ: नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सत्तामा पुगेका सबै दल एमसीसी परियोजना अघि बढाउन तयार भएको बताएका छन्। प्रवक्तामा नियुक्ति भएपछि आयोजित एक कार्यक्रममा डा. महतले एमसीसी संसदमा लगेपछि दूधको दूध, पानीको पानी हुने टिप्पणी गरेका हुन् ।
उनले भने, ‘ सभामुखले यसलाई संसदमा टेबल गराउनुपर्छ। यो नेपालको हितमा छ। शेरबहादुर देउवा, केपी ओली, प्रचण्ड, झलनाथ खनालदेखि डा बाबुराम भट्टराईसम्म एमसीसी नेपाललाई चाहिन्छ भन्ने प्रक्रियामा सहभागी भइसक्नु भएको छ।’
‘हिजो अरुण तेस्रो जलविद्युत आयोजना कांग्रेस नेतृत्वको सरकारले अघि बढाउन खोज्दा त्यो काम राष्ट्रियताको हित विपरीत छ भनेर देशभर गलत हल्ला फैलाएको थियो,’ महतले भने। अहिले एमसीसीमा पनि त्यही भएको उनको भनाई थियो। एमसीसी नेपालजस्ता विकाशोन्मुख देशको मागका आधारमा तयार भएको परियोजना रहेको बताउँदै महतले सबै सरकार यसको पक्षमा रहेको बताए।
‘सत्तामा पुगेका सबै दल एमसीसी परियोजना अघि बढाउन तयार छन्। कसैको पनि असहमति छैन। ओली नेतृत्वको सरकारकै पालामा एमसीसी संसदमा लैजाने सहमति गरिएको हो,’ नेता महतले भने, ‘यसमा कुनै पनि जिमेवार दलले चुप लागेर बस्नु दुखद् हो। सत्य कुरा के हो त्यसबारे स्पस्ट बोल्नुपर्छ।’-File Photo