काठमाडौं, १ फागुन । नेकपा (एमाले) ले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध सत्तापक्षले महाभियोग प्रस्ताव दर्ता गराएको विषयलाई लिएर असन्तुष्टि जनाएको छ । एमालेका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सत्तापक्षले गलत नियतले महाभियोग दर्ता गराएको भनेर सार्वजनिक रुपमा प्रतिक्रिया दिईसकेका छन् ।
यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले नै प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग लगाए परमादेश जारी गर्ने सबै न्यायाधीशलाई लाग्नुपर्ने धारणा राखेका थिए । एमालेले सुरुदेखि नै राजीनामा नै दिनुपर्ने अवस्था हो भने प्रधानन्यायाधीश जबरामात्रै नभएर परमादेश जारी गर्ने सबै न्यायाधीशहरुले राजीनामा दिनुपर्ने आफ्नो अडान राख्दै आएको छ ।
आज सत्तापक्षीय ९८ जना सांसदको हस्ताक्षरसहित प्रधानन्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव दर्ता भैसकेको छ । योसँगै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा निलम्बनमा परेका छन् । नेपालको संविधानको धारा १०१ को उपधारा ६ मा महाभियोगको कारबाही प्रारम्भ भएपछि त्यस्तो कारबाहीको टुँगो नलागेसम्म आफ्नो पदको कार्यसम्पादन गर्न नपाउने भनेर उल्लेख गरेको छ । सोहीअनुसार राणा स्वतः निलम्बनमा परेका हुन् ।
उनीविरुद्ध सत्तारूढ दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जसपाका ९८ जना सांसदले महाभियोग प्रस्ताव दर्ता गराएका हुन् । महाअभियोग दर्ता गर्न कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडु आँफै पुगेका थिए ।
महाभियोग प्रस्ताव दर्ता गर्न सांसदहरू गगन थापा, डा. मीनेन्द्र रिजाल, जीवनराम श्रेष्ठ, पुष्पा भुसाल र देवप्रसाद गुरूङ संसद् सचिवालय पुगेका थिए । के अब एमालेले परमादेश जारी गर्ने अरु न्यायाधीशहरुको विरुद्धमा महाभियोग प्रस्ताव दर्ता गराउला त ? अहिले यो विषय चर्चाको विषय बनेको छ । file photo
Related Video:
https://www.facebook.com/RishiDhamalaOfficial/videos/787376742655999