काठमाडौं, ३ फागुन । केही हप्ता अघि मात्र सभामुख अग्निप्रसाद सापकोटाले एमसीसी टेबल नगराउने संकेत गर्दै कडा टिप्पणी गरेका थिए । उनले गृहजिल्ला काभ्रे पुगेर आफूले मनपरी हुन नदिने बताए ।
यसै हप्ता उनको बोली लचिलो भयो । दलहरु निर्णायक रहेको र आफू अम्पायर मात्र हुँ भने । उनले एमसीसी टेबल गर्ने संकेत गर्दै दलहरुले निर्णय लिने स्पष्ट सन्देश दिए ।
आखिर कसरी सभामुख लचिलो भए ? यसमा धेरैको चासो छ ।
सभामुख अग्निप्रसाद सापकोटा दुईवटा चुनौतीले चिन्तामा थिए । काभ्रेमा २०६२ सालमा अर्जुन लामा हत्याको अभियोगमा उनीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा विचाराधी थियो । अदालतले गर्ने फैसलाले उनको राजनीतिक जीवनमा ठूलो धक्का लाग्न सक्थ्यो । अर्को विषय उनीविरुद्ध हटाउने प्रस्ताव सदनमा दर्ताको तयारी भइरहेको थियो ।
सत्ता गठबन्धनले एकाएक राजनीतिक लेनदेन गरेर प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरे । यसले सभामुख सापकोटाको चिन्ता एकसाथ हट्न पुग्यो । उनले आफूलाई सुरक्षित महशुश गरेका छन् ।
महाभियोगलगत्तै सभामुख सापकोटा एमसीसी टेबल गर्ने पक्षमा पुगेका छन् । सत्ता गठबन्धनबीचको सहमतिले उनलाई सजिलो भएको छ । अब एमसीसी निर्णयार्थ प्रस्तुत गर्नेमा उनी कसरी प्रस्तुत होलान् ? चासो बनेको छ ।