काठमाडौं, ५ फागुन । त्रिभूवन विश्व विद्यालयका प्राध्यापकहरू नेपाल विद्यार्थी संघले लगाएको तालाबन्दीको बिरोधमा उत्रिएका छन् । त्रिविमा उपकुलपतिको कार्यकक्षमा नेविसंघले ताला लगाएको २ सय दिन बितिसकेको भन्दै तालाबन्दी हटाउन माग गर्दै प्राध्यापकहरूले बिरोध प्रदर्शन गरेका हुन् ।
नेविसंघले विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा सुधार गर्नुपर्ने माग गर्दै तालाबन्दी गर्दै आएको छ । त्रिविका प्राध्यापकहरु विश्वविद्यालयलाई तालाबन्दी मुक्त क्षेत्र बनाउँ, अब त अत्ति भयो, विश्वविद्यालयमा तालाबन्दी कहिलेसम्म, विश्वविद्यालय सुधारका लागि एकजुट होऔं’ लगायतका प्लेकार्ड बोकेर बिरोधमा उत्रिएका हुन् ।
प्रदर्शनमा उत्रेका प्राध्यापकहरुले विश्वविद्यालयको रजिस्टार कार्यालयअघि १५ मिनेट शान्तिपूर्ण धर्ना दिएका थिए । तालाबन्दी समाधान नभई समस्या भएको उनीहरुको भनाई छ । आफ्नो स्वार्थका लागि विद्यार्थी संगठनहरुले त्रिविमा तालाबन्दी गर्दै जाने हो भने समस्या कहिल्यै समाधान नहुने प्राध्यापकहरुको तर्क छ । विश्वविद्यालयलाई प्राज्ञिक थलो बनाउनु पर्ने उनीहरुको भनाई छ ।