काठमाडौं, ६ फागुन । महालक्ष्मी विकास बैंकको वार्षिक साधारण सभा अब फागुन १३ गते बस्ने भएको छ ।
सभामा बैंकले आर्थिक वर्ष २०७७–७८ को नाफाबाट २० प्रतिशत बोनस र कर प्रयोजनको लागि १.०५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेश गर्न लागेको बैंकले जानकारी दिएको छ । सभाले प्रस्तावित लाभांश पारित गरेपछि वितरण प्रक्रिया सुरु हुनेछ ।
सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ ।
सभामा बैंकको संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूबाट ३ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि रहेको छ । बैंकको आर्थिक वर्ष २०७७–७८ को नाफानोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा पनि छलफल हुनेछ ।
सभा प्रयोजनको लागि बैंकले पुस १३ गते बुक क्लोज गरिसकेको छ । पुस १३ गतेसम्म कायम सेयरधनी मात्र प्रस्तावित लाभांशको हकदार हुनेछन् ।