काठमाडौं, १० फागुन । ललितपुर मेयरकप महिला टी–ट्वान्टी याम्पियनसीपमा सुदुरपश्चिम प्रदेशले सुखद सुरुवात गरेको छ ।
क्रितिपुर स्थित टियु क्रिकेट मैदानमा आज (मंगलबार) भएको पहिलो खेलमा सुदुरपश्चिम प्रदेशले ललितपुर मेयर्स–११ लाई ५८ रनले पराजित गर्दै विजयी सुरुआत गरेको हो ।
१ सय ४४ रनको लक्ष्य पछ्याएको मेयर्स–११ ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै ८५ रन मात्र जोड्न सक्यो ।
मेयर्स–११ का लागि सरस्वती चौधरीले सर्वाधिक २६ रन बनाइन भने साना प्रविनले १५ रन जोडिन ।
सुदुरपश्चिमका लागि लक्ष्मी साउदले सर्वाधिक ३ विकेट लिइन् । यस्तै ५ ओभर बलिङ गरेकी कविता कुवँरले उत्कृष्ट प्रदर्शन गर्दै दुई विकेट लिईन् ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै १ सय ४३ रन जोडेको थियो ।
सुदुरपश्चिमका लागि कप्तान रितु कनौजियाले सर्वाधिक ४२ रन जोड्न सफल भइन् ।
साथै, रेवती ढकालले २९ तथा विन्दु रावलले २८ रनको योगदान गरे । डोली भट्टले २५ रन जोडीन् ।
ललितपुरका लागि खुसी डंगोलले सर्वाधिक २ तथा अनुराधा चौधरी, आरती विडारी र अस्मीना कर्माचार्यले समान एक–एक विकेट लिए ।