काठमाडौं, १० फागुन । जनता समाजवादी पार्टी, नेपालमा अध्यक्ष उपेन्द्र यादव अल्पमतमा परेका छन् । पछिल्लो समय एमसीसीलाई लिएर संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसँग यादवको टकराव बढेको थियो ।
यादव एमसीसीको विपक्षमा छन् । तर, भट्टराई भने एमसीसी तत्काल संसद्बाट पारित गराउनुपर्ने पक्षमा उभिँदै आएका छन् । यही बीचमा जसपाका नेताहरुले तत्काल कार्यकारिणी समितिको बैठक बोलाउन माग गरेका छन् ।
तर, अध्यक्ष यादवले भने बैठक बोलाउन आनाकानी गरिरहेका छन् । जसपाका एक कार्यकारिणी सदस्यकाअनुसार यादव अहिले संसदीय दल र कार्यकारिणी समिति दुवैमा अल्पमतमा छन् । यो बीचमा जसपामा अशोक राईलाई अर्को अध्यक्ष बनाउनको लागि पनि यादवमाथि दबाब परेको थियो ।
अहिले बाबुरामको पक्षमा अत्यधिक बहुमत सांसदहरु खुलेका छन् । राजकिशोर यादव, महिन्द्रराय यादव, प्रदीप यादवलगायतका सांसदहरु भट्टराईको पक्षमा खुलेका छन् । पार्टीको सबै कमिटीमा यादव अल्पमतमा परेको ती नेताको दाबी छ । यस्तो अवस्थामा अब पार्टीमा यादवले भनेको कुरा लागु हुने सम्भावना छैन् ।
पछिल्लो समय यादवसँग भट्टराईको टकराव बढेको छ । यादवले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग अघोषित साँठगाँठ गरेको भट्टराईको गुनासो छ । उनले आफूनिकट नेताहरुसँग भन्ने पनि गरेका छन्–‘म प्रचण्डले बोकेको विचार गलत छ भनेर विद्रोह गरेर आएको नेता हुँ, अनि हाम्रो पार्टीका अध्यक्ष उपेन्द्रजी प्रचण्डकै एजेण्डामा लत्रिन थालेपछि कसरी पार्टी अघि बढ्छ ।’
एमसीसीको विषयमा यादवले पनि प्रचण्डले जस्तै दोहोरो नीति अवलम्बन गरेको नेताहरुको गुनासो छ । तर, भट्टराईले भने पार्टी एमसीसीको पक्षमा उभिने बताउँदै आएका छन् । उनले एमसीसी नेपालको हितमा भएको भन्दै कुनैपनि हालतमा फिर्ता पठाउन नहुने धारणा राख्दै आएका छन् । सरकारले विरोध र विवादका बावजुद पनि फागुन ८ गते एमसीसी प्रतिनिधिसभामा टेबुल गराएको छ ।
सरकारको तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त प्रस्ताव पेश गरेका हुन्। अब प्रतिनिधिसभाको बैठक फागुन १२ गते दिउँसो १ बजे बस्ने तय भएको छ । अबको बैठकमा एमसीसीबारे छलफल हुने बताईएको छ ।
संसद् बैठक बस्नुअघि नै जसपाको संसदीय दलका बैठक राखेर एमसीसीको पक्षमा उभिने भनेर बहुमतले निर्णय गराउने बाबुराम पक्षको तयारी छ । जसपामा एमसीसीलाई लिएर बहुमत सांसदहरु पक्षमा उभिएका छन् । उनीहरुले एमसीसीको विषयमा दलले ह्वीप जारी गर्न नहुने पनि धारणा राख्दै आएका छन्।