काठमाडौं, ११ फागुन । एमसीसी प्रतिनिधि सभामा टेबल भएपछि दलहरुले आफ्नो कित्ता स्पष्ट पार्न थालेका छन् । नेपाली काँग्रेस पहिले देखि नै एमसीसीको पक्षमा थियो । उसले ह्वीप नै जारी गरेर अनिवार्य उपस्थित भएर पक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई निर्देशन दिएको छ । काँग्रेससँग ६३ सांसद संख्या रहेकोमा २ जना निलम्बित छन् । यसकारण काँग्रेसबाट ६१ जनाले मतदान गर्न पाउँछन् ।
एमसीसीको पक्षमा महन्थ ठाकुर नेतृत्वमो लोकतान्त्रिक समाजवादी पार्टी पनि रहेको छ । लोसपाले पनि ह्वीप नै जारी गरेर छलफल र निर्णयार्थ प्रस्तुत हुँदा पक्षमा मतदान गर्न निर्देशन दिएको छ । लोसपासँग १३ सांसद संख्या छ ।
एमसीसीको पक्षमा जसपाका डा. बाबुराम भट्टराई पनि छन् । उनीसँग कति सांसद छन् भन्ने एकिन छैन । जसपाका १९ सांसदमध्ये एमसीसीको पक्षमा कम्तिमा १० या सबै हुनसक्ने बुझिएको छ । जसपा समेत गणना गर्दा एमसीसीको पक्षमा ९२ सांसद रहने देखिएको छ ।
एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेकाहरुमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, जनमोर्चा नेपाल, नेपाल मजदूर किसान पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी समेत छन् । माओवादीका ४८, नेकपा एसका २३ का अलावा जनमोर्चा, नेमकिपा र राप्रपाको १–१ सांसद गरी ७४ ले विपक्षमा मतदान गर्ने अवस्था बनिसकेको छ । माओवादी निकट हुम्लाका स्वतन्त्र सांसद छक्कबहादुर लामा पनि विपक्षमा देखिन्छन् ।
अलिहेसम्म एमसीसीको पक्षमा ७५ सांसद रहने निश्चित जस्तै छ । निर्णयका हिसाबले भने एमसीसीको पक्ष र विपक्षमा समान गणित छ ।
एमसीसीमा नेकपा एमालेको मत निर्णायक हुने देखिन्छ । एमालेको ९७ सांसद छन् । यसमा नेकपा एसमा लागेका भनिएका सोमप्रसाद पाण्डेलाई पनि गणना गरिएको छ । उनीहरुको मत जता जान्छ उतै बहुमत हुन्छ । एमाले अझै एमसीसीबारे के गर्ने बारे निर्णयमा पुगेको छैन । यस हिसाबले अहिलेसम्मको अवस्थामा एमालेलाई तटस्थ मान्नु पर्छ ।
एमसीसीको पक्षमा
नेपाली काँग्रेस– ६१
लोसपा– १३
कुल–७४
एमसीसीको विपक्षमा
नेकपा माओवादी केन्द्र–४८
नेकपा एस –२३ (सोमप्रसाद पाण्डे जोड्दा २४)
राप्रपा–१
राजमो–१
नेमकिपा–१
कुल– ७४
तटस्थ
नेकपा एमाले– ९७
जसपा–१८
कुल–११५
नखुलेको
स्वतन्त्र–१
निष्कर्षः अहिलेसम्म कसैको बहुमत देखिदैन । एमालेले जता मत दिन्छ उतै बहुमत पुग्छ । तटस्थ बसेपनि एमसीसी प्रस्ताव अस्वीकृत हुन्छ ।