काठमाडौं, १४ फागुन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल सत्ता गठबन्धन जोगाउनको लागि अन्तिम प्रयास गरिरहेका छन् । पार्टीभित्र एमसीसीविरोधी मत हाबी भएपछि उनी तनावमा थिए ।
यो बीचमा प्रधानमन्त्री शेरबहादुर देउवाले पनि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग सहमतिको प्रयास गरेपछि प्रचण्ड झस्किएका छन् ।
गठबन्धनमा आवद्ध माओवादी केन्द्रमात्रै नभएर माधव नेपालले नेतृत्व गरेको नेकपा (एकीकृत समाजवादी) पनि गठबन्धन जोगाउनुपर्ने र यसको लागि एमसीसी पास गराउन लचिलो हुनुपर्ने पक्षमा पुगेको छ । अहिले प्रचण्ड र माधव नेपाललाई एमसीसी फलामको चिउरा भएको छ ।
सुरुमा प्रचण्ड एमसीसी संसद्मा टेबुल नै गर्न दिन नहुने पक्षमा उभिएका थिए । तर, माधव नेपालको आग्रहमा दाहालले एमसीसी सदनमा टेबुल गर्न दिनेबारे लचकता अपनाएका थिए । यही फागुन ८ गते एमसीसी प्रतिनिधिसभामा पेश भैसकेको छ । अब भोलि बस्ने बैठकमा एमसीसी पास गराउनेगरि प्रधानमन्त्री देउवाले गृहकार्य थालेका छन् ।
प्रधानमन्त्री देउवाले सबै दलको सहमतिमा एमसीसी पास गराउनुपर्ने बताउँदै आएका छन् । एमाले नेताहरुले भने सत्ता गठबन्धनसँग बहुमत रहेको अवस्थामा आफूहरुको साथ नचाहिने भनिरहेका छन् । यदि आफूहरुको साथ चाहिने हो भने पहिले संसद्को बैठकमा भाग लिन पाउनुपर्ने वातावरण बनाउन उनीहरुले कांग्रेस नेताहरुसँग आग्रह गरेका छन् ।
हिजो बालकोट बैठकमा पनि एमाले नेताहरुले सभामुखलाई हटाउन वा माधव नेपालसहित आफूहरुले अनुशासनको कारबाही गरेका १४ सांसदहरुलाई कारबाहीको सूचना टाँस गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् । एमसीसी पास गराउनको लागि माओवादी केन्द्र र नेकपा (एस) सहमत नभए कांग्रेसले अहिलेको गठबन्धन तोडेर एमालेसँग सहकार्य गर्ने बताईसकेको छ ।
दुवै पार्टीका नेताहरुले नेपालका ठूला ठूला परिवर्तमान कांग्रेस र एमालेले नै निर्णायक भूमिका खेलेको भन्दै अहिले पनि विषम परिस्थिति उत्पन्न भएकोले मिलेर अघि बढ्ने बताईसकेका छन् । तर, प्रचण्ड वर्तमान गठबन्धन टुटाउन चाहँदैनन् । त्यसैले उनले पार्टीभित्र एमसीसी पास गराउनेगरि पक्षमा उभ्याउनेगरि रणनीति तय गरेका छन् ।
बरु, पार्टीभित्रका असन्तुष्ट नेताहरुले जस्तोसुकै कदम चालेपनि त्यो व्यहोर्ने तर एमसीसीलाई लिएर ठूलो राजनीतिक मूल्य चुकाउने पक्षमा दाहाल छैनन् । उनले आफूनिकट नेताहरुसँग पनि एमसीसी गिजोलिएको गुनासो पोख्न थालेका छन् ।