Logo

आगामी निर्वाचनसम्म सबैलाई खोप दिनुपर्छः अध्यक्ष तिमिल्सिना



काठमाडौं, १८ फागुन । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आगामी निर्वाचनसम्ममा सबै नागरिकलाई कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा दिलाउनुपर्ने बताएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विश्व स्वास्थ्य सङ्गठनले संयुक्त रुपमा आयोजना गरेको कोभिड–१९ विरुद्धको खोपसम्बन्धी जोखिम सञ्चार तथा सामुदायिक सहभागिता विषय अन्तरक्र्रियामा उनले निर्वाचनसम्म नेपाललाई पूर्ण खोपयुक्त घोषणा गर्ने कार्यलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका हुन् ।

“सबै जनताले खोप लगाए, सबै कोरोनाबाट बच्न सक्दछन्”, उनले भने, “जसले गर्दा राजनीतिक दललाई पनि फाइदा हुन्छ, त्यसैले अझ सक्रिय भएर खोपको सन्देश लिएर जनता समक्ष जाऔं ।” उनले सीमित साधनस्रोतका बाबजुद नेपालले कोरोना भाइरस रोकथाम र नियन्त्रण गरेको बताए ।

कार्यक्रममा कोभिड–१९ महामारीका सन्र्दभमा जनस्वास्थ्यका मापदण्ड पछाडिको विज्ञान, कोभिड–१९ विरुद्धको खोप कार्यक्रमका लागि स्वास्थ्य मन्त्रालयको रणनीति, कोभिड–१९ पश्चात देखिने स्वास्थ्य समस्या तथा व्यवस्थापनलगायत विषयमा राष्ट्रियसभाका सदस्यसँग छलफल गरिएको थियो ।

यसअघि कर्णाली र सुदूरपश्चिमका प्रदेशसभाका सदस्यलाई पनि कोभिड–१९ र यसले पारेको प्रभावबारे मन्त्रालय तथा डब्लुएचओले प्रशिक्षण दिएको थियो । रासस



प्रतिक्रिया दिनुहोस्