Logo

मुख्यमन्त्री राउतको गर्जनः “काठमाडौंमा बसेर विकास भएन, भ्रष्टाचार भयो भन्ने ?”



काठमाडौं, २२ फागुन । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले विगत २० वर्षमा नभएका विकास साढे चार वर्षमा गरेको दाबी गरेका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै मुख्यमन्त्री राउतले भने, “पछिल्लो समय मधेसका जनप्रतिनिधिलाई टार्जेट गरिएको छ । मधेसी जनप्रतिनिधिलाई बदनाम गर्ने, अफवाह फैलाउने र अतिरञ्जित प्रचार गर्ने शैली हावी भएको छ । मिडियाले पनि त्यसलाई हाइलाइट गरिरहेका छन् । विगत २० वर्षमा नभएका विकास हामीले साढे चार वर्षमा गरेका छौं । काठमाडौंमा बसेर विकास भएन, भ्रष्टाचार भयो भन्ने ? तपाईं मधेस प्रदेशका खराब भनिएका गाउँमा घुम्नुस् अनि भन्नुस् । तर संघीयतालाई गाली नगर्नुस् । यहाँका जनप्रतिनिधि राजनीतिक स्वार्थको सिकार भएका हुन् ।”
व्यवस्था बदलिए पनि कार्यशैली नबदलिएकाले जनआकांक्षा अनुसार काम हुन नसकेको पनि उनले बताए । राउतले थपे, “हामी आउँदा प्रदेशमा ठूलो भ्याकुम थियो । ऐन, कानुन, नीति थिएनन् । पूर्वाधार थिएनन् । कार्यालय र कर्मचारी थिएनन् । व्यवस्था बदलियो । नेता र नेतृत्व बदलियो । तर कार्यशैली पुरानै भयो । संरचना ठूला भए पनि अनुभव थिएन र क्षमता बढाउन पनि सकिएन । मधेस प्रदेशको प्रमुख सचिव नै सात पटक फेरिए । मन्त्रालयमा पनि सातआठ जना सचिव फेरिएका छन् । कार्यशैली सुधार नहुन्जेल जनआकांक्षा पूरा गर्न गाह्रो छ ।”



प्रतिक्रिया दिनुहोस्