काठमाडौं, २३ फागुन । नेकपा (एमाले) का सचिव तथा पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठले रुस–युक्रेन युद्धबारे नेपाल सरकार हतार गरेर युक्रेनको पक्षमा उभिएको भन्दै कडा आलोचना गरे । उनले सरकारले जनतालाई चाहिने/नचाहिने कुरा भनेर ठगिरहेको आरोप लगाए । उनले भने,‘अहिले परराष्ट्र नीतिको सवालमा यो सरकार कम्प्लिट्ली फेल भैसकेको छ । म तपाईँलाई भर्खरै एउटा कुरा स्मरण गराउन चाहन्छु, अहिले भर्खरै रुस–युक्रेनको लडाईँ भैरहेको छ । हामीले नेपालजस्तो देशले, जो बास्तवमा रुससँग २०१३ सालमा नै दौंत्य सम्बन्ध भएको हो, हामीले युद्ध सुरु हुनासाथ, नेपाल सरकारले प्रतिपक्षीसँग पनि सल्लाह नगरी, ठीक छ सरकारले गरेन, तर सरकारको नेताले त गर्न सक्थे नि, यसरी युक्रेन र रुसबीचको खराब सम्बन्धले गर्दा लडाईँ सुरु भैसक्यो, यसमा हाम्रो देशको भूमिका के हुन्छ ? कहिलेकाहीँ प्रतिपक्षीसँग पनि सरकारले सोध्ने गरेको ईतिहास छ, तर यो सरकारले हतारिएर रुस–युक्रेनको युद्धमा युक्रेनको पक्षमा मतदान गर्ने काम गर्यो । जबकी हाम्रा छिमेकी देशहरु भारत र चीन, जो अहिले संसारको आधा जनसंख्याभन्दापनि बढि छ, भारत र चीनसँगै पाकिस्तान, बंगलादेश, श्रीलंका सबै तटस्थ बसे, ३५ वटा देश तटस्थ बसे । तर, हामी दुई छिमेकीको बीचमा बसेको देशले हामीलाई के हतार थियो ? हामी पनि त तटस्थ बस्नुपर्दथ्यो नि, यो सरकारले के देखाउन खोजेको छ ? नेपाल कुनै देशको खेमाभित्र पर्यो वा हामी पार्छौं भन्ने सोचका साथ उहाँहरुले हतारिएर मतदान गर्नुभयो ।’
आज (सोमबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका नेता महासेठले उनले रुस–युक्रेनलाई युद्ध रोक्नको लागि नेपाल सरकारले आह्वान गर्नुपर्ने उल्लेख गरे । उनले भने,‘उनीहरुले युद्ध रोक्नुबाहेक अर्को विकल्प छैन्, तर नेपाल सरकारले आज देशलाई कहाँ लगेर फसाएको छ ? तपाईँ पत्रकार मित्रहरु प्नि अलिकति अध्ययन गर्नुहोस । परराष्ट्र नीति, हामी जुन पञ्चशीलको कुरा गर्छौं, के हामीले तटस्थ बस्दा के हुन्थ्यो ? तर यहाँ हतार भयो । पछि सबैसँग सल्लाह गरेर अनि संसारको स्थिति बुझेर आफ्नो निर्णय गर्दा हुन्थ्यो । स्वयम परराष्ट्रमन्त्री हुँदा एक/दुई वटा भोटिङ भयो, त्यसमा हामी तटस्थ बस्ने नै निर्देशन दिएका थियौं । तर अहिले जुन नेपालले निर्णय गरेको छ, त्यसको असर भावी दिनमा नेपालमा पर्छ कि पर्दैन् ? त्यसको असर कस्तो गम्भीर प्रकारको पर्छ भनेर यो सरकारले सोच्नुपर्दैन् ? यो सरकारका अगुवा प्रचण्ड र माधवजीहरुले सोच्नुपर्दैन् ? स्वयम प्रधानमन्त्रीज्यूले सोच्नुपर्दैन् ? यो देशलाई उहाँहरुले कुन खेमामा लग्न खोज्नुभएको छ ? के हामी चीनभन्दा बढि शक्तिशाली छौं, सैन्य सवालमा ? सैन्य सवालमा के हामी भारतभन्दापनि शक्तिशाली छौं ? मैले के भन्न खोजेको हो भने सरकारले यो विषयमा हतारो गर्यो, हतार गर्नुहुँदैन थियो । जे गल्ती हुनुथियो, भैहाल्यो । तर, आगामी दिनमा कुनैपनि निर्णय लिँदा यहाँका परराष्ट्रविदहरुलाई बोलाएर छलफल गर्नुपर्छ। सबैसँग सल्लाह लिनुपर्छ । होईन, रातारात कसैको ईशारामा तटस्थ नबसी मतदान गर्नुहुँदैन थियो ।’
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले रुस–युक्रेन युद्ध प्रकरणमा नेपाल सरकारले कसको दबाबमा युक्रेनको पक्षमा लागेको हो त ? भनेर सोधेको प्रश्नमा उनले भने–‘कसको दबाब दिएर भन्ने कुरा त तपाईँले सम्मानीय प्रधानमन्त्रीजीलाई सोध्दा हुन्छ, तर मेरो विचार के छ भने यो कसैले दबाब दिएर यति छिटो निर्णय हुँदैन्, स्वयम आफूलाई देखाउन र आफ्नो सरकारलाई देखाउन उहाँहरुले हतार गर्नुभएको हो । यसमा बास्तवमा यो गठबन्धनको सरकार हो । यदि त्यो गलत थियो, वा त्यति हतार गर्नुहुँदैन थियो भन्ने कुराहरु प्रचण्ड र माधव नेपालजीले रोक्नुपर्दथ्यो । यो सबैलाई थाहा छ, रसिया नेपालको एउटा राम्रो मित्र हो । तपाईँहरु जनकपुर चुरोट कारखाना कसले बनाईदिएको हो ? महेन्द्र राजर्मामा कति सडक बनाईदिएको छ, पुलहरु बनाएको छ, धेरै सेक्टरमा रुसको सहयोग थियो, अहिलेपनि जचुका छ, उसले बनाएर नेपाल सरकारलाई जिम्मा लगाईदियो । जहाँसम्म यहाँले दबाबको कुरा सोध्नुभयो, यसमा म के भन्छु भने सरकारले नजानेर, नबुझेर त्यस्तो निर्णय लिएको हुनुपर्छ भन्ने मलाई विश्वास छ।’
उनले वर्तमान सरकार प्रत्येक मोर्चामा असफल भएको ठोकुवा गरे । उनले भने,‘आर्थिक क्षेत्रमा त्यस्तै छ, अहिले कर्मचारीलाई तलब खुवाउने पैसा हुँदैन भन्ने हल्ला छ। १४ देखि २२ सय एमालेको पालामा सुरु भएको विकास योजना बन्द गरेको छ । एमालेले गरेको काम भनेर अहिले बन्द गरिएको छ । यो सरकार सबै मोर्चामा असफल भएको छ ।’