काठमाडौं, २५ फागुन । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले भ्रष्टाचार गर्नकै लागि बजेटको आकार ठूलो बनाउँदा मुलुक भड्खालोमा जाने बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै क्षेत्रीले भने, “संघ, प्रदेश र स्थानीय तहमा भ्रष्टाचार निकै बढेको छ । अब हामी नागरिकको शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, रोजगारीजस्ता पूर्वाधारको विकासमा केन्द्रित हुनु जरुरी छ । भ्रष्टाचार गर्नकै लागि बजेटको आकार ठूलो बनाउन थाल्यौं भने मुलुक भड्खालोमा जान्छ ।”
उत्पादन नबढाईकन फजुल खर्चमा ध्यान दिँदा अर्थतन्त्रका सूचक नकारात्मक भएको उनको टिप्पणी छ । क्षेत्रीले थपे, “हामी विदेशीको देखासिकीमा खान र लाउन उद्यत भयौं, तर आफ्नो उत्पादन र मेहनतमा उदासीन भयौं । विगत ७ महिनामा १० खर्ब व्यापार घाटा भयो । उद्योगधन्दामा कच्चा पदार्थ त ल्यायौं तर निर्यात कत्ति पनि भएन । ७ महिनामा २३ अर्बको सुन र १४ अर्बको चाँदी ल्यायौं । तर त्यो केमा उपयोग गर्यौं ? विदेशी मुद्राको सञ्चिति घट्दै गएको छ । यस्तो कुराले । अर्थतन्त्रलाई चलायमान गर्न योगदान दिँदैन । फजुल खर्च घटाउनुपर्छ ।”
लफंगो राजनीतिका कारण मुलुक समस्याग्रस्त बन्दै गएको उनको आरोप छ । उनले भने, “राजनीतिक दलाली गर्नेहरु खाने, लाउने, मोजमस्ती आमोद प्रमोदमा लागेका छन् । नागरिकको आयआर्जन, रोजगारी र छाक टार्ने कुरामा समस्या आयो । राजनीति लफंगो भयो । दुई तिहाइको सरकार बोकालाई कोभिन्डो जस्तो मुखमै अटेन । राजनीतिक खेलाडीलाई आआफ्नो धोती स्याहार्नै मुस्किल भयो । उनीहरु दीर्घकालीनभन्दा तत्कालीन न्यानोमा लाग्दा अर्थतन्त्र ओरालो लागेको छ ।”
पूर्व गभर्नर क्षेत्रीले राजनीतिक नेतृत्वले बैंकमा जाने पैसा ओगटेर राखेकाले तरलता अभाव देखिएको बताए । उनले भने, “कोभिडले अर्थतन्त्रलाई थिलथिलो पारेको छ । लगानीकर्ताले बैंककाट प्रशस्त कर्जा लगे । निक्षेपको अनुपातमा कर्जा बढेकाले बैंक थप लगानी गर्न असमर्थ भए । चालू खर्च बढे पनि पुँजीगत खर्च दयनीय अवस्थामा छ । त्यसमा राष्ट्र बैंक पनि चुकेको छ । पहिला पहिला एउटा चेकबाट ३० लाखसम्म निकाल्न सकिन्थ्यो । अहिले ७ लाखभन्दा बढी नगद झिक्न नपाउने अवस्था आयो । आफ्नै पैसा खर्च गर्न नपाउने अवस्था आएपछि नागरिकले बैंकलाई पत्याउन छाडे ।”
बैंकमा जाने पैसा राजनीतिक नेताहरुले आफ्नै घरमा थुपारेर राखेको पनि उनले बताए । क्षेत्रीले भने, “तीन तहको चुनाव आउँदै छ । गलत ढंगले अकुत कमाएको पैसा पार्टीलाई बुझाएर टिकट लिने चलन बढेको छ । कतिपयले भीड जम्मा गर्नका लागि खर्चने पैसा ओगटेर राखेकाले पनि बैंकले तरलताको अभाव झेलिरहेका छन् । मुलुक र जनताको हित हेर्ने हो भने, अब खसी, खबोका, भैंसी, राँगो काटेर भोट किन्ने होइन, बत्ती, बाटो, खानेपानी, शिक्षा र स्वास्थ्यको विकास गर्ने विश्वास दिलाउनुपर्छ ।”