काठमाडौं, २७ फागुन । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले देशभरिका निर्माण व्यवसायीको सुझावअनुसार आफू पुनः नेतृत्वमा आउन लागेको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै सिंहले भने, “नेपाल निर्माण व्यवसायी महासंघको बाह्रौै महाधिवेशन प्रधानमन्त्री शेरबहादुर देउवाले समुद्घाटन गर्दै हुनुहुन्छ । ११ सय प्रतिनिधि सहभागी महाधिवेशन छन् । नेपालभरिका निर्माण व्यवसायीका साथीहरुको सुझाव र खबरदारीका आधारमा मैले आफूलाई पुनः नेतृत्वका लागि उभ्याएको छु ।”
सिंहले आफ्नो उम्मेदवारीलाई नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको समर्थन रहेको पनि दाबी गरे । उनले भने, “अहिलेसम्म भएका उपलब्धि संस्थागत र लिपिबद्ध गर्न पनि मेरो नेतृत्व आवश्यक छ । संसद् अवरुद्ध हुँदा सार्वजनिक खरिद ऐन छलफलमा आउन सकेको छैन । विकासमैत्री, पूर्वाधार मैत्री, उद्योग व्यवसाय मैत्री कानुन बनाउन पनि मेरो पहल आवश्यक छ । नेपाली कांग्रेसका सभापति र प्रधानमन्त्रीको अनुमति लिएर मैले अध्यक्ष पदमा पुनः उम्मेदवारी दिन लागेको हुँ ।”
पछिल्लो समय सरकार र निर्माण क्षेत्रबीच राम्रो सम्बन्ध रहेको पनि उनले बताए । उनले थपे, “सरकारले निजी क्षेत्रलाई प्राथमिकता दिएर सरोकारावालासँग गरेको छलफलबाट हामी उत्साहित छौं । सरकारले सार्वजनिक खरिद नियमावलीको एघारौं संशोधन गरेको छ । सम्पूर्ण आयोजनाको एक वर्ष म्याद थप गरिदियो । केही निर्माण कम्पनीले धेरै काम ओगटेर बसेका थिए । अब एउटाले ५ वटाभन्दा बढी ठेक्का लिन नपाउने भएपछि कार्टेलिङ निरुत्साहित हुने अवस्था आएको छ । १० अर्बसम्मको काममा नेपाली कम्पनी नै निर्णयले विदेशी सरह सक्षम हुने अवसर पाउने छौं । अब बिस्तारै सुस्त निर्माण क्षेत्रले गति लिनेछ र निर्माण क्षेत्रको सिथिलतामा ऊर्जा थपिनेछ । निर्माण कम्पनीको वृत्ति विकासमा टेवा पुग्नेछ ।”
सरकारी ठेक्काको ८० प्रतिशत हिस्सा एक दर्जन निर्माण कम्पनीको कब्जामा रहेको अवस्था अब अन्त्य हुने उनले बताए । सिंहले भने, “आफ्नो क्षमताभन्दा बढी काम ओगट्ने परिपाटीका कारण पोखरा विमानस्थल, चक्रपथ, कमला—कञ्चनपुर, बुटवल—नारायणगढ सडकलगायत थुप्रै आयोजना समयमै सम्पन्न हुन सकेका छैनन् । आफ्नो काम सब कन्ट्रयाक्टर, पेटी कन्ट्रयाक्टरलाई दिने चलन छ । एक पटकमा ५ भन्दा बढी काम लिन नपाउने र एउटा काम सकिएपछि मात्र अर्को काम लिन पाउने प्रावधानले विद्यमान समस्या समाधान हुने आशा लिएका छौं ।”
कतिपय आयोजना निर्माण व्यवसायीभन्दा पनि नियम, कानुनका कारण समयमै सम्पन्न नभएको उनको दाबी छ । सिंहले भने, “एघारौं महाधिवेशनमा म निर्वाचित हुँदा नेकपाको बलियो सरकार थियो । त्यसैले हामी समृद्ध नेपाल सुखी नेपालीको नाराले उत्साहित थियौं । तर उसले हामीसँग सार्वजनिक खरिद नियमावली बनाउँदा संवादै गरेन । हामीले राखेको ३८ बुँदे संशोधन निर्माणमैत्री हुँदाहुँदै पनि त्यसको सनुवाइ भएन । त्यसबीचमा कोभिड-१९ का कारण संसार नै प्रभावित भयो । लकडाउन, सटडाउन, निषेधाज्ञा आदिका कारण समस्या भयो । अबको कार्यकाल दोहोर्याउन पाएँ भने धेरै काम सहज हुनेमा म विश्वस्त छु ।”