४ चैत, काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना ९ सदस्यीय प्रतिनिधि मण्डलसहित इन्डोनेशिया जाने भएका छन् । अन्तर व्यवस्थापिका संघको १४ औँ सम्मेलनमा भाग लिन अध्यक्ष तिमिल्सिना इन्डोनेशिया जान लागेका हुन् ।
तिमिल्सिनाको नेतृत्वमा ९ सदस्यीय प्रतिनिधि मण्डल शुक्रवार बेलुका साढे ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गर्ने जनाइएको छ ।
प्रतिनिधि मण्डलमा राष्ट्रियसभा सदस्यहरु भैरवसुन्दर श्रेष्ठ, अनिता देवकोटा तथा प्रतिनिधिसभा सदस्यहरु सुरेन्द्रकुमार कार्की, उमाशंकर अरगरिया, संघीय संसदका महासचिव डा. भरतराज गौतम, राष्ट्रियसभाका सचिव राजेन्द्र फुँयाल, राष्ट्रियसभा अध्यक्षका प्रमुख स्वकीय सचिव गोविन्द अकेला र उपसचिव रेखा उपाध्याय पनि प्रतिनिधि मण्डलमा रहने संसद सचिवालयले जानकारी दिएको छ ।
तिमिल्सिनाले गोर्भनिङ काउन्सिलको २०९ औँ सत्रमा पनि भाग लिने कार्यक्रम रहेको छ । सम्मेलनमा सहभागी भएर संसदीय प्रतिनिधि मण्डल चैत्र ११ गते नेपाल फर्किने छ ।