काठमाडौं, चैत ६ । कोरोना संक्रमणको तेस्रो लहर भत्थर भएसँगै पुनः विश्वका धेरै देशमा नयाँ भेरियन्ट देखा परेको छ । ‘डेल्टाक्रोन’ भेरियन्ट नाम दिइएको सो भाइरस ओमिक्रोन र डेल्टा भाइरस उत्परिवर्तित रहेको वैज्ञानिकहरूले बताउँदै आएका छन् ।
डेल्टाक्रोनको पहिलो संक्रमण सन् २०२२ को जनवरीमा फ्रान्समा भेटिएको थियो । डब्ल्यूएचओले मार्च ९ मा वैज्ञानिकहरूले नयाँ कोभिड–१९ भेरिअन्ट पत्ता लगाएको घोषणा गरेको थियो । अहिले यो भेरियन्ट डेनमार्क र नेदरल्यान्ड, युरोपेली मुलुक र अमेरिकामा समेत भेटिएको विश्व स्वास्थ्य संगठनले पुष्टि गरिसकेको छ ।
डब्ल्यूएचओले यो भेरियन्टलाई एवाई. ४ बीए १ दिए पनि हालसम्म जोखिमको अवस्थामा रहेको जनाएको छैन । यद्यपि, विश्व स्वास्थ्य संगठनले भने सतर्क रहन सबैलाई आग्रह गरेको छ ।
हेलिक्सका वैज्ञानिकहरूले सन् २०२१ को नोभेम्बरदेखि सन् २०२२ को फेब्रुवरीसम्म संकलन गरेका कोभिडका २९ हजार नमुनामध्ये दुई नमुनामा मात्रै डेल्टाक्रोन संक्रमण देखिएको छ । वैज्ञानिकहरूले यो भेरियन्टले ठूलो प्रभाव पार्ने र संक्रमण बढ्ने हालसम्म नदेखिए पनि सजग हुनुपर्ने सुझाएका छन् ।
अन्तर्राष्ट्रिय समाचार संस्थाका अनुसार अन्तर्राष्ट्रिय जनस्वास्थ्य निकायहरूले नयाँ भेरियन्टका विषयमा चिन्ता नलिन भनेका छन् ।