सुनसरी, ७ चैत्र । सुनसरीको साविक बराहक्षेत्र गा.वि.स. वडा नं. ३ स्थित आदर्श सामुदायिक वन उपभोक्ता समुहका तत्कालीन सचिव दिपक थापा मगरमाथि अख्तियारले मुद्दा दायर गरेको छ ।
पदाधिकारीहरूले सामुदायिक वनमा वृक्षारोपण र तार घेराको नाममा अत्याधिक रकम खर्च देखाएको, चेक काटी रकम हिनामिना गरेको, समुहमा दाखिला गर्नुपर्ने रकम खाई मासेर आर्थिक अनियमितता गरेको भन्ने उजुरीको आधारमा अख्तियारले मगरलाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्दा मगरले आफ्नो कार्यकालमा उपभोक्ताहरुबाट रसिद काटी बुझी लिएको समुहको कोषमा दाखिला गर्नुपर्ने रकम २ लाख ९३ हजार ३७२ रुपैयाँ हिनामिना गरेको पुष्टि भएको थियो ।
मगरले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर भएको दाबी गर्दै २ लाख ९३ हजार ३७२ रुपैयाँ बिगो माग गरी आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले जनाएका छन् ।