काठमाडौं, १३ चैत्र । नेपालमा अमेरिकी र चिनियाँ चासो एकसाथ बढ्दै गएको छ । दुवै देश नेपाल मामलामा प्रभाव बढाउने प्रतिष्पर्धामा छन् ।
पछिल्लो समय अमेरिकी अधिकारीहरुको नेपाल भ्रमण बाक्लिएको छ । एमसीसी पारित भएपछि उत्साही अमेरिकाले नेपालमा आफ्नो दरिलो उपस्थिति देखाउन थालेको छ ।
अमेरिकी प्रभाव बढेलगत्तै चीनको सक्रियता पनि बढेको छ । चिनियाँ विदेशमन्त्री वाङ यी दुई दिने नेपाल भ्रमणमा १२ चैत्रमा आएका छन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।
वाङ नेपाल आएकै दिन अमेरिकी राजदूत रेण्डी बेरी बालुवाटार पुगे । उनले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरे । वाङ आएकै दिन सुरुमै बेरी गएर देउवालाई भेट्नुलाई अर्थपूर्ण मानिएको छ ।
बेरीले भेट्नु र प्रधानमन्त्री देउवाले बीआरआई बढाउनेमा खासै चासो नदेखाउनुलाई संयोग मात्र होइन भन्न थालिएको छ । देउवाले ऋणका रुपमा नभई अनुदान मात्र लिने भन्दै बीआरआई अगाडि बढाउने तर्फ चासो नदेखाएपछि चीनले गम्भीर रुपमा लिएको बुझिएको छ ।
यसैगरी, वाङ नेपाल आएर दुई ठूला कम्युनिस्ट पार्टीका अध्यक्षहरुलाई भेटेका छन् । उनले एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डलाई छुट्टाछुट्टै भेटेका छन् । पहिले ओलीलाई भेटेलगत्तै प्रचण्डलाई भेटेका वाङले वामपन्थी एकतामा जोड दिएको बुझिएको छ ।