Logo

सुजाताले शेखरको विरोध गर्दै देउवाको पक्षमा बोलिन्



काठमाडौं, १३ चैत्र । ‘राजनीतिमा आफ्नो र अर्काको भनिदैन, परिवार पनि भनिदैन’ भन्ने चल्तीमा छ । यस्तै भएको छ नेपालको एउटा राजनीतिक परिवारभित्र । कोइराला परिवारभित्रका डा. शेखर कोइराला, सुजाता कोइराला र डा. सशांक कोइराला फरक तरिकाले अगाडि बढिरहेका छन् ।

काँग्रेस केन्द्रीय समितिको जारी बैठकमा कोइराला परिवारभित्रको फरक मत प्रकट भयो । शनिबार डा. शेखर कोइरालाले सार्वजनिक कार्यक्रममा काँग्रेसले कम्युनिस्टहरुसँग गठबन्धन गर्नुहुँदैन भनेका थिए । उनले कम्युनिस्टहरु मिले लिनुन् पनि भने । गठबन्धन गर्दै जाने हो भने नेपाली काँग्रेस भारतको कँग्रेस आई जस्तै कमजोर हुन्छ भने ।

शेखर कोइरालाको भनाईको सुजाताले आलोचना गरिन् । केन्द्रीय कार्यसमिति बैठकमा आलोचना गरेकी उनले बाहिर आएर मिडियासामु पनि यही बोलिन् ।

सुजाताले भनिन्,‘गठबन्धनकै कारण नेपाली काँग्रेसले प्रधानमन्त्री पाएको छ, चिफ मिनिस्टरहरु बन्नुभएको छ । अपर हाउसमा पनि जिताउन सकेका छौं । गठबन्धन छाड्नुहुँदैन ।’ उनले मिलेर जानुपर्नेमा जोड दिइन् ।

काँग्रेसभित्र शेखर कोइराला र रामचन्द्र पौडेलले अलग गुट निर्माण गरेको भन्दै सुजाताले आलोचना गरिन् । उनले भनिन्,‘अब गुट उपगुट बनाउने होइन । चुनावमा असर गर्छ । काँग्रेस सबैभन्दा लोकप्रीय पार्टी हो तर गुट उपगुट भए हार्तसक्छ ।’

काँग्रेस कहिले पनि भारतको कँग्रेस आई जस्तो कमजोर बन्छ भनेर निराशाको कुरा गरेको भन्दै शेखर कोइरालाको आलोचना गरिन् । उनले भनिन्,‘नेपाली काँग्रेस कँग्रेस आई बन्छ भन्ने ? निराशाको कुरा गर्ने चुनावको मुखमा ?’ उनले काँग्रेस मिलेर गए अत्याधिक बहुमतले जित्ने दाबी समेत गरिन् । गुट उपगुट नबनाई मिलेर जान भनिन् ।

काँग्रेस सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनसँग चुनावी तालमेलको कुरा गरिरहेका छन् । सुजाताले पनि देउवाको समर्थन गरेकी छिन् । तर, उनकै दाजु शेखर कोइराला भने गठबन्धनबीच तालमेल गर्न नहुने पक्षमा छन् । सुजाता दाजुको लाइनभन्दा फरक ढंगले प्रस्तुत भइन् ।-File Photo



प्रतिक्रिया दिनुहोस्