काठमाडौं, १९ चैत । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता केशव झाले प्रधानमन्त्री शेरबहादुर देउवा भारतीय जनता पार्टीको मुख्यालयमा गएको कुरालाई उल्टो व्याख्या गरेर अतिरञ्जना फैलाउनु आवश्यक नभएको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता झाले भने, “नेपाल र भारतबीच बहुआयामिक र विशिष्ट सम्बन्ध छ । यो प्रधानमन्त्री शेरबहादुर देउवाको सद्भावना भ्रमण हो । उहाँलाई एयरपोर्टदेखि नै बाटोबाटोमा भव्य स्वागत गरिएको छ । देउवालाई भाजपा अध्यक्ष जेपी नड्डाले आफ्नो मुख्यालयमा गरेको स्वागतलाई उचित वा अनुचित रुपमा हेर्नुहुँदैन । यसलाई उल्टो व्याख्या गरेर अतिरञ्जित गर्नु आवश्यक छैन । नेपाल र भारतबीच कूटनीतिक सम्बन्ध मात्र नभएर वैयक्तिक र अन्तरंग सम्बन्ध पनि छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आउँदा सबै डिप्लोमेटिक नम्र्स बिर्सेर भजन मण्डलीमा भजन गाउन थालेको पनि हामी सम्झना गरौं न ।”
नेपालका कम्युनिस्टहरुले हरेक कुरालाई अनावश्यक प्रचार प्रसार र विश्लेषण गरेर तीलको पहाड बनाउने गरेको आरोप पनि उनले लगाए । झाले भने, “नेपालका कम्युनिस्टहरु सबै कुरालाई अनावश्यक प्रचार प्रसार र विश्लेषण गर्छन् । तीलको पहाड बनाउँछन् । नेपाली कांग्रेसका नेताहरुले भारतमा बसेर प्रजातान्त्रिक आन्दोलन मात्र गरेका होइनन्, भारतीय स्वतन्त्रता आन्दोलनमा लडेका पनि हुन् । पोर्टफोलियो नाघेको कुरा गर्ने हो भने जुम मिटिङ गरेर चिनियाँ कम्युनिस्ट पार्टीको राजनीतिक प्रशिक्षण लिएको होइन ? देशको प्रधानमन्त्रीले विदेशी पार्टी प्रशिक्षण लिन मिल्थ्यो ? आफू जति तलसम्म झर्दा पनि हुने अनि छिमेकी देशको पार्टी प्रमुखले प्रेमको भावमा बोलाउँदा जान्न भन्न मिल्छ ?”
प्रधानमन्त्री देउवाको भ्रमणमा विगतमा भएका सहमति कार्यान्वयनका लागि जोड दिनुपर्ने पनि उनले औंल्याए । झाले थपे, “हामीले जहिले पनि देशको सर्वोत्तम हितका लागि काम गर्नुपर्छ । खासगरी नेपाल र भारतबीच भएका धेरै सम्झौता अघि बढेका छैनन् । पञ्चेश्वरलाई पूर्णता दिने, हुलाकी राजमार्गको काम तीव्र रुपमा अघि बढाउने आदि । रक्सौंल-अमलेखगन्ज-काठमाडौंसम्म जोड्ने रेलवेका कुरा पनि छन् ।”
नेपालले आफ्नो क्षमता बढाएर भीख माग्ने कुरा कम गर्दै लैजानुपर्ने पनि उनले औंल्याए । झाले भने, “खालि अनुदान लिने सोचभन्दा आत्मनिर्भर र स्वावलम्बी अर्थतन्त्रको बाटोमा लाग्नुपर्छ । मनलाई ठूलो बनाउँदै भीख माग्ने संस्कार त्याग्नुपर्छ ।”
सीमाको विवादलाई कूटनीतिक संवादको माध्यमबाट समाधान गर्नुपर्ने झाले बताए । उनले भने, “भारत नेपालको निकटतम छिमेकी हो । छिमेकी बदल्न सकिँदैन । छिमेकीसँग प्रेम पनि हुन्छ, झगडा पनि हुन्छ । नेपाल र भारतबीचको विशिष्ट सम्बन्धलाई ख्याल गर्दै सीमाको विवादलाई कूटनीतिक संवादको माध्यमबाट समाधान गर्नुपर्छ ।”
नागरिकता अध्यादेशलाई अबको बजेट सेसनमा पारित गर्ने र आन्दोलनकारीमाथिका मुद्दा फिर्ता लिने हो भने लोसपा सरकारमा सामेल हुन आपत्ति नरहेको झाले बताए । उनले भने, “प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन अगावै सरकारमा आउन आह्वान गर्नुभएको छ । हाम्रो माग र मुद्दाको सम्बोधन भयो र आगामी चुनावमा गठबन्धनभित्र हामीलाई समेट्ने अवस्था बन्यो भने सरकारमा सामेल हुन समस्या छैन ।”