काठमाडौं, ८ वैशाख । नेकपा (माओवादी केन्द्र) का नेता दीनानाथ शर्माले ५ दलीय सहमतिबारे नेपाली कांग्रेसभित्रको विवाद सामान्य भएको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता शर्माले भने, “नेपाली कांग्रेसभित्र एकदुई ठाउँमा विवाद देखिएको छ । एउटै पार्टीमा त असन्तुष्टि हुन्छ भने ५ दलीय गठबन्धनमा हुनु स्वाभाविक हो । नेपाली कांग्रेस जिम्मेवार पार्टी हो । उसका कार्यकर्ता लामो लोकतान्त्रिक अभ्यासबाट आएका छन् । आफ्नो चित्त नबुझेको कुरालाई खुला रुपमा भन्नुलाई अन्यथा रुपमा लिनु हुन्न । हामी घातप्रतिघात र अन्तर्घातबाट धेरै हण्डर, ठक्कर खाएर आएका छौं । हाम्रा कार्यकर्ताले झुम्राको पुतली खडा गरे पनि कांग्रेसलाई मतदान गर्छन् । माथिको निर्णय पालना गर्छन् ।”
अहिले कसले कति भाग पायो भन्दा पनि संविधान र प्रणाली जोगाउनु ठूलो कुरा भएको उनले बताए । शर्माले थपे, “कसले कति पायो भन्ने कुराको हिसाब हुँदैन, मुख्य कुरा संविधानको रक्षा र लोकतान्त्रिक प्रणालीलाई संस्थागत गर्छ कि गर्दैन भन्ने हो । हामी कमजोर भएको भन्दा पनि संविधान र प्रणालीलाई केन्द्रमा राखेर उदार भएका हौं । नेपाली कांग्रेस र माओवादी नेतृत्वदायी र परिवर्तनको बाहक शक्ति भएकाले दुवै मिल्नु सामान्य कुरा हो ।”
उनले भरतपुर महानगरपालिकामा रेणु दाहालको विकल्प नभएको पनि दाबी गरे ।