Logo

गठबन्धन कांग्रेसका लागि ठूलो अवसर हो, विरोध मात्र गरेर केही हुनेवाला छैनः उमेश श्रेष्ठ



काठमाडौं, ९ वैशाख । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले गठबन्धनको भागबन्डाको विरोध गरेर मात्र केही नहुने बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै श्रेष्ठले भने, “गठबन्धनको भागबन्डामा चुनौती र अवसर दुइटै छ । गठबन्धनसँगै हामीले ठूलो अवसर पाएका छौं । हामीले सकारात्मक भएर सोच्ने हो भने जहाँ चुनौती हुन्छ, त्यहाँ अवसर पनि हुन्छ । सबै हामीले पाउनुपर्छ भन्ने हो भने हाम्रै हार हुन्छ । गठबन्धन नगर्ने हो भने राज्यसत्ता अरुले नै चलाउँछन् । त्यसैले विरोध गरेर मात्र केही हुनेवाला छैन ।”
पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा पार्टीभित्रको असन्तुष्टि मिलाउन भरतपुर पुगेका नेता श्रेष्ठले अहिले देखिएका असन्तुष्टि साम्य हुने दाबी गरे । उनले भने, “मैले सबै साथीहरुलाई भेटिरहेको छु । पार्टीले पाउनुपर्छ भन्ने आवाज स्वाभाविक हो । यसमा सेन्टिमेन्ट पनि जोडिएको छ । पार्टीका साथीहरुको भनाइ के छ भने भरतपुरमा पहिले पनि अवसर पाएन, अहिले पनि पाएन । निर्वाचन प्रणाली अनुसार कुनै एउटा दलले बहुमत ल्याउन नसक्ने अवस्थामा गठबन्धन बाध्यता हो । गठबन्धन गरेपछि सबै ठाउँ हामीले नै पाउनुपर्छ भन्न मिल्दैन ।”
उनले टिकट नपाएको झोक केही दिनमा शान्त हुने पनि बताए । श्रेष्ठले भने, “राजनीति सेवा हो, पेशा वा व्यवसाय होइन । राजनीति गरेपछि इच्छा, आकांक्षा, अभिलाषा स्वाभाविक हुन्छ । टिकट नपाउन्जेल कम्पिटेसनमा जाने हो र टिकट पाउनेलाई नेता मानेर अघि बढ्ने हो । मलाई लाग्छ, अब गठबन्धनमा कुनै समस्या आउँदैन । मुख्य कुरा पार्टी हो । पार्टीका लागि त्याग पनि गर्नैपर्छ । तीनै तहमा मिलेर जाँदा कांग्रेसलाई ठूलो अवसर छ ।”



प्रतिक्रिया दिनुहोस्