काठमाडौं, १७ वैशाख । स्थानीय तहको निर्वाचनमा धेरैको चासो भरतपुर महानगरपालिकामा छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी रेनु दाहाल दोस्रो कार्यकाल मेयर बन्न उम्मेदवार बनेकी छिन् । त्यहाँ काँग्रेसले रेनुलाई सघाउने भइसकेको छ । तर, काँग्रेसबाट बागी उम्मेदवार छन् जगन्नाथ पौडेल ।
पौडेल काँग्रेसका पुराना नेता हुन् । कानून व्यवसायी समेत रहेका उनलाई लोभ लालचमा नफस्ने काँग्रेस नेताको रुपमा चिनिने गरिन्छ । गत स्थानीय तहको चुनावमा माओवादीलाई भोट हालेका काँग्रेस नेता कार्यकर्ता चिढिएको बेलामा यसपटक पनि त्यस्तै अवस्थामा निर्माण गर्न खोजिएपछि विद्रोह गरे पौडेलले ।
पार्टीका पुराना नेताहरुले समेत पौडेललाई साथ दिए । काँग्रेसको विधान अनुसार बागी उम्मेदवार बनेका पौडेलसहित उनका प्रस्तावक चितवन जिल्लाका पूर्व सभापति ८४ वर्षीय कृष्णप्रसाद सापकोटा पनि निष्काशित भएका छन् । तर, भुइँकटर चुनाव चिन्ह लिएर पौडेल प्रचारमा जुटिसकेका छन् ।
पौडेललाई काँग्रेसका पुराना नेताहरुको साथ छ । नयाँ पीढीका काँग्रेस कार्यकर्ताहरुको पनि उनीतर्फ ध्यान गएको छ ।
उम्मेदवारी दिएपछि उनलाई भेट्न पूर्व प्रधानन्यायाधीश गोपाल पराजुली चितवन पुगेका थिए । पराजुली पनि नेविसंघको राजनीति गरेका हुन् । दुवैको निकटता छ । पराजुली पछिल्लो समय हिन्दू राष्ट्र जागरण अभियानमा छन् । उनको देश दौडाहा चलिरहेको छ । अभियानले देशलाई हिन्दू राष्ट्र बनाउने उद्देश्य राखेको छ ।
पराजुलीको पौडेलसँगको भेटलाई अर्थपूर्ण मानिएको छ । धर्मनीरपेक्ष, गणतन्त्र र संघीयता खतरामा पर्दै आएको अभिव्यक्ति दिने गरेका प्रचण्डलाई चितवनमा धक्का दिने प्रयासका रुपमा पछिल्लो घटनाक्रमलाई लिइएको छ । विस्तारै हिन्दू राष्ट्र र धर्मनीरपेक्षका पक्षधरहरुबीच सिधा टकराव देखिन थालेको छ । यही सन्दर्भमा हिन्दू राष्ट्र अभियानका एकजना प्रमुख व्यक्ति पराजुलीको भरतपुरमा पुगेर देखिएको सक्रियतालाई चासोका साथ हेरिएको छ ।-File Photo