काठमाडौं, १८ वैशाख । नेपाल प्रहरीका नवनियुक्त आइजीपी धीरज प्रताप सिंह अपराध अनुसन्धानमा अब्बल प्रहरीका रुपमा परिचित छन् । इन्स्पेक्टरका रुपमा प्रहरी सेवामा प्रवेश गर्दा उनी नम्बर एक बन्न सके । सिंहले आफूलाई सक्षम प्रहरीका रुपमा कार्यक्षमता देखाए ।
१२ चैत्र २०४९ मा इन्स्पेक्टरका रुपमा प्रहरी सेवा आरम्भ गरेका सिंहले कठिन स्थानहरुमा इञ्चार्जका रुपमा कार्य गरे । २०६१ सालमा डिएसपी हुँदा सिंह आफ्ना ब्याचीमध्येबाट एक नम्बरमा बढुवा भए । त्यसपछि उनले अपराध अनुसन्धानका क्षेत्रमा महत्वपूर्ण सफलता हासिल गर्दै गए ।
२०६९ मा एसपीमा बढुवा हुँदा पनि पहिलो नम्बरमा परे । उनले पर्सा जस्तो जोखिमयुक्त ठाउँमा बसेर कार्य गरे । तस्करको जालो तोड्न सफल भए ।
एसएसपी भएपछि उनले अपराध अनुसन्धान महाशाखाको कमाण्ड सम्हाले । उनले गुण्डागर्दी र संगठित अपराधविरुद्ध आक्रामक कदमहरु चाले ।
डिआइजी भएपछि सिंह मधेश प्रदेशको कमाण्ड सम्हाल्न पुगे । कोरोना भाइरसको महामारीको बखत मधेश प्रदेशमा निकै चुनौतीपूर्ण अवस्था थियो । सीमा क्षेत्रको संवेदनशीलता र आवतजावतमा निगरानीको जोखिम थियो । उनले सफलतापूर्वक कमाण्ड सम्हाले ।
सीआइबीमा उनको सरुवा भयो । सीआइबीमा रहँदा ललिता निवास प्रकरणको फाइल खोले । ठूला तस्करी देखि संगठित अपराधविरुद्ध अनुसन्धान बढाए । उनले ती अनुसन्धानहरुमा सफलता हासिल गरे । एआइजी हुँदा पनि उनैलाई सीआइबीको कमाण्ड दिइयो ।