Logo

देशका आधा पालिकामा मात्र गठबन्धनबीच तालमेल, बाँकीमा अन्य दलसँग अघोषित गठबन्धन



काठमाडौं, १९ वैशाख । पाँच दलीय गठबन्धनबीच ६ महानगरपालिका र ११ उपमहानगरपालिकाहरुमा तालमेल बन्न सकेपनि देशका अधिकांश पालिकाहरुमा प्रतिष्पर्धा हुने देखिएको छ । गठबन्धनले भरसक सबै पालिका र वडा तहसम्म तालमेल गर्न प्रयास गरेपनि सफल हुन सकेका छैनन् ।

काँग्रेस, माओवादी, नेकपा एस, जसपा र जनमोर्चाबीच प्रमुख पद देखि वडा सदस्य पदसम्ममा दाबेदारीले धेरै पालिका र वडाहरुमा कुरा मिल्न नसकेको हो । यसले चुनावी परिणाममा गठबन्धनलाई ठूलो असर पर्न सक्ने देखिएको छ ।

देशको आधाभन्दा बढी पालिकाका प्रमुख, अध्यक्षलगायत मुख्य पदहरुमा कुरा मिल्न सकेन । जसका कारण गठबन्धनले आ आफ्नै उम्मेदवार अगाडि सारेका छन् ।

नेपाली काँग्रेसले गठबन्धनका अन्य दललाई कुल ११९ पालिकामा मेयर तथा प्रमुख छाडेको छ । उसले उपमेयर तथा उपाध्यक्षमा २१९ लाई छाडेको तथ्यांक छ ।

सत्ता गठबन्धनबीच महानगरपालिका र उपमहानगरपालिकाहरुमा गठबन्धन भएको छ । तर, देशभरका आधाभन्दा बढी नगरपालिका र गाउँपालिकाहरुमा गठबन्धन हुन सकेको छैन ।

काँग्रेसले २६२ मेयर, १९४ उपमेयर, ३७२ गाउँपालिका अध्यक्ष र ३४० उपाध्यक्षका लागि उम्मेदवार बनाएको जानकारी दिएको छ । यसलाई आधार मान्दा काँग्रेसले महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकामा गरी १४ प्रमुख पदमा मात्र गठबन्धनका अन्य दललाई छाडेको छ । उपमेयरमा भने ८२ पद मात्र अन्य दललाई छाडेको छ ।

गाउँपालिकाहरुमा काँग्रेसका ३७२ अध्यक्ष र ३४० उपाध्यक्ष पदका उम्मेदवार छन् । उसले ८८ अध्यक्ष पद गठबन्धनलाई छाडेको छ । १२० उपाध्यक्ष पद गठबन्धनलाई छाडेकोछ । काँग्रेसले देशभरका पालिकाहरुमा ६३४ उम्मेदवार उठाउँदा ११९ मात्र गठबन्धनका दलहरुलाई प्रमुख तथा अध्यक्ष पद छाडेको छ । उपाध्यक्ष तथा उपप्रमुख पद भने २१९ छाडेको छ ।

काँग्रेसले उम्मेदवारहरु अगाडि बढाएको तथ्यांकलाई आधार मान्ने हो भने देशका आधा जसो क्षेत्रमा मात्र प्रमुख तथा अध्यक्ष पदमा गठबन्धनबीच तालमेल बन्न सकेको छ । बाँकी पालिकाहरुमा गठबन्धन नै प्रतिष्पर्धामा देखिएका छन् ।

गठबन्धन हुन नसकेका कतिपय पालिकाहरुमा रोचक घटनाहरु विकास भएका छन् । गठबन्धनभित्र कुनै बलियो दल तालमेल गर्न तयार नभएपछि गठबन्धनबाहिरका दलसँग पनि अघोषित तालमेल देखिन थालेको छ । यसले चुनावी परिणाममा सोचे भन्दा फरक परिणाम आउन सक्छ ।



प्रतिक्रिया दिनुहोस्