देश संघीय प्रणालीमा गएपछिको दोस्रो स्थानीय तह निर्वाचन ३० वैशाखमा हुँदै छ । निर्वाचनमा अघिल्लो पटक पहिलो दल बनेको नेकपा एमालेविरुद्ध कांग्रेस नेतृत्वमा पाँच दलीय गठबन्धन छ । तै पनि गठबन्धन ‘फ्लप’ भएको र निर्वाचनमा गठबन्धनलाई पराजित गर्ने दाबी एमालेको छ ।
पराजित गर्न सकिने आधारहरूमा ५० देखि ६० प्रतिशत नयाँ मतदाता अध्यक्ष केपी शर्मा ओलीका कारण एमालेप्रति आकर्षित भएको, गठबन्धनको नेतृत्वदायी दल कांग्रेसमा बागीको बिगबिगी भएको र गठबन्धन दलहरूबीच अन्तरविरोध कायमै रहेका कारण एमालेलाई निर्वाचन जित्न सहज हुने पार्टी उपाध्यक्ष युवराज ज्ञवाली तर्क गर्दै आएका छन् ।
उनै ज्ञवालीसँग स्थानीय तह निर्वाचनमा एमालेले जित्न सक्ने सम्भावित स्थानीय तहको संख्या, आधार, १० बुँदे सहमतिपछि पार्टीमा जोडिएका नेताहरूको स्थानीय निर्वाचनमा उपेक्षालगायत विषयमा केन्द्रित भएर न्युज कारखानाकर्मी जङ्ग तामाङले गरेको कुराकानीको सम्पादित अंश :
नेकपा एमालेविरुद्ध पाँच दलीय गठबन्धन खडा छ । गठबन्धन हुँदा पनि कति स्थानीय तहमा जित्न सकिएला ? एमालेको हिसाब के छ ?
एमाले विभाजित भए पनि देशको सबैभन्दा ठूलो दल हो । संसद्को ठूलो दल हो । धेरै प्रदेशमा एमाले ठूलो दल छ । स्थानीय तहमा पनि ठूलो दल एमाले नै हो ।
अर्को कुरा, एमालेबाट अगल भएर नेता माधवकुमार नेपालले भिन्नै पार्टी बनाए पनि पूर्व माओवादीबाट वडादेखि केन्द्रसम्मै महत्वपूर्ण पंक्ति एमालेमा समाहित भएको छ । कार्यकर्ता र मतदाताको पनि ठूलो पंक्ति एमालेमा थपिएको छ । र, यो बीचमा मेची–महाकालीसम्मै एमाले प्रवेशको लहर सिर्जना भयो । निकै धेरै ठाउँमा अन्य पार्टीबाट एमालेमा आउने क्रम भयो । महत्वपूर्ण नेताहरू, ठूलो संख्यामा कार्यकर्ता र मतदाताको ओइरो लाग्यो । यो निकै उल्लेखनीय छ ।
समग्रमा एमालेको जनमत बलियो छ । निर्वाचनको प्रचारमा जाँदा र मेची–महाकाली निर्वाचनमा अभियानमा खटिएका साथीहरूको रिपोर्ट सुन्दाखेरी वातावरण एकदम उत्साहपूर्ण छ ।
फेरि, पाँच दलीय गठबन्धनभित्र आपसमै अन्तरविरोध चर्को छ । कांग्रेसमा बागीको बिगबिगी छ । गठबन्धनमा व्यापक असन्तुष्टि छ । ठिक उल्टो एमालेमा यस पटक गुटबन्दी छैन । पार्टी ‘हाई कमाण्ड’को निर्णय मान्ने बफादार र इमान्दार नेता कार्यकर्ता छन् । अन्तर्घात गर्ने र असन्तुष्ट हुने पक्ष नै छैन एमालेमा । यसलाई गठबन्धन पराजित गर्ने एमालेको राजनीतिक क्षमताको रूपमा बुझिनुपर्छ ।
उसो भए कति स्थानीय तहमा एमालेले जित्ला ? वस्तुवादी ढंगले एमालेले विश्लेषण गरेको छ ?
यति नै पालिका जित्न सकिएला भन्ने ठ्याक्कै विश्लेषण हाम्रो छैन । तर, स्थानीय तहमा हाम्रो बहुमत आउने सुनिश्चित छ । त्यो बहुमत कति अंकले बढी हुन्छ भन्ने एउटा कुरा हो । अहिले जति नयाँ मतदाता थपिएका छन् नि, त्यो मतदाता कता जान्छ भनेर हामीले सर्वेक्षण गरेका पनि छौं ।
सर्वेक्षण गर्दा नयाँ मतदाता कता बढी जाने पाउनुभयो ?
निर्वाचनमा पुराना मतदाता त प्रायः दलका स्थायी मतदाता भइसकेका हुन्छन् । र, नयाँ मतदाताको आकर्षण कता छ ? भनेर आमसभा, खुला सभादेखि, भेला र सानातिना कार्यक्रम गरेर सर्वेक्षण गर्दा एमालेमा आकर्षण देखियो । उनीहरूमा देशको विकास गर्छ भने नेकपा एमालेले गर्छ भन्ने बुझाइ पायौं । पाँच दलीय गठबन्धनप्रति आकर्षण देखिँदैन । नेपाली कांग्रेसको मुख्य नेता शेरबहादुर देउवाजीप्रति आकर्षण छैन नयाँ मतदाताको । एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति छ । हामीले थपिएका नयाँ मतदातामा ५० देखि ६० प्रतिशत एमालेमा आए भन्ने विश्लेषण गरेका छौं ।
अघि नै तपाईंले भनिहाल्नुभयो कि एमाले फुटेको छ । फुटको बीच निर्वाचनमा जान लाग्दा दोस्रो दल कांग्रेस, तेस्रो दल माओवादी केन्द्र, चौथो दल एकीकृत समाजवादी, पाँचौं दल जनता समाजवादीलगायतको गठबन्धन छ । नयाँ मतदाता थपिएको भन्ने आधारमा बहुमत ल्याउँछ भन्नु विश्वासयोग्य तर्क हो र ?
दोस्रो दल भए पनि कांग्रेसको एमालेकोभन्दा जनमत धेरै कम छ । अन्य दलको त त्यति छैन जनमत । अहिले पाँच दलीय गठबन्धनबाट प्रधानमन्त्री हुनुभएको देउवाजी, रामचन्द्रजी, प्रचण्डजीलगायत नेताहरू नै भन्दै हुनुहुन्छ कि एमालेलाई एक्लाएक्लै जित्न सकिँदैन । यो मैले बोलेको कुरा होइन । त्यही भएर गठबन्धन बनाउनु परेको भनिरहनु भएको छ । यसले पुष्टि के हुन्छ भने एमाले ठूलो छ, बलियो छ, एक्लै जित्न नसकिनेछ ।
अनि, एमाले ठूलो दल हुन्छ भन्नुहुन्छ तपाईं । तर, किन ठूलो हुनुपर्ने एमाले ? जबकि, ठूलो दल हुँदा त गैरसंवैधानिक ढंगले संसद् विघटन गर्दोरहेछ भन्ने आरोप छ नि एमालेलाई ?
यतिबेला देशवासी अग्रगमन चाहन्छ । प्रगति चाहन्छ । विकास चाहन्छ । अग्रगमन भन्नाले आमूल परिवर्तन हो । त्यो भनेको समाजवाद हो । समाजको आर्थिक–सामाजिक–सांस्कृतिक क्षेत्रमा नेपाली जनता परिवर्तन चाहन्छ । यद्यपि, राजनीतिक रूपमा ठूलो परिवर्तन भयो । क्रान्ति भयो । त्यो राजनीतिक क्रान्ति भए पनि आर्थिक–राजनीतिक–सांस्कृतिक क्रान्ति हुन बाँकी छ । त्यसो भएको हुनाले लोकतान्त्रिक प्रणालीको आधारमा यो परिवर्तन गर्न चाहन्छौँ । जनताबाट अभिमत ल्याएर परिवर्तन सम्भव छ ।
समाजलाई समाजवादमा पु¥याउन चाहन्छौँ । जतिबेला सामाजिक न्यायसहितको समाज र समतामूलक समाज निर्माण हुन्छ । समुन्नति र समृद्धि पनि सँगसँगै हुन्छ । यसका लागि एमाले ठूलो दल बन्नुपर्छ । तर, हामी पहिले सरकारमा छँदा आन्तरिक द्वन्द्व व्यस्थापन गर्न सकेनौं । त्यसकै कारणले अन्ततः संसद् विघटनको स्थिति निम्तियो । यद्यपि, के हो भने नयाँ जनादेशका लागि जनतामा जाने कुरा प्रतिगमन होइन । त्यसबेला त आन्तरिक द्वन्द्वले सरकार संकटमा पर्ने स्थिति थियो । त्यसलाई फेरि नकोट्याउँ । कति कोट्याउने क्या ? जहिल्यै कोट्याएर एमालेलाई प्रतिगामी भनिरहने ? संसद् पुनःस्थापना भइ सकेन र ?
अर्को विषय, १० बुँदे सहमति गरेर पार्टी एकता प्रक्रियामा जोडिएका तपाईंलगायत नेताहरू स्थानीय तह निर्वाचनको बेला टिकट वितरण प्रक्रियामा छेउ लाग्नु भएको हो ?
पहिले एउटा प्रसङ्ग सुनाउँछु । अब के छ भने एउटा पंक्ति माधव नेपालजीले लिएर जानुभयो । ५५/५६ जना केन्द्रीय सदस्य र तल्लो कमिटीको एउटा पंक्ति गयो । हामी सिनियरमध्येका १० जनासहित २०/२२ केन्द्रीय कमिटी पार्टी विभाजन गर्नु हुँदैन र पार्टीभित्र अन्तरविरोध देखापर्नेबित्तिकै पार्टी फुटाएर हिँड्नु गलत हो भनेर १० बुँदे सहमति गरेका हौँ । पार्टी विभाजन गर्नुपर्ने औचित्य पुष्टि हुने आधार नै छैन । आफ्नै पार्टीमा बसेर गम्भीर बहस गर्दै एकताबद्ध बनाएर जाने हाम्रो मान्यता थियो । त्यसमा नेपालजीसँग धेरै कुरा ग¥यौँ । उहाँले मान्नुभएन । यो एउटा विषय हो ।
अब तपाईंले सोध्नु भएको विषयमा आउँछु । हामीले उम्मेदवारका लागि पार्टीको तल्ला कमिटीबाट नाम मागेका थियौं । न्युनतम एक महिलासहित तीन जनाको नाम माग्यौँ । त्यहीअनुसार वडा, पालिका र जिल्ला कमिटीबाट सिफारिस आयो । त्यसमै टेकेर उम्मेदवार छनोट भएको हो । दाङको सन्दर्भमा तुलसीपुरको मेयरमा टीकाराम खड्का उम्मेदवार हुनुभएको छ । जो हिजो १० बुँदे सहमति गरेर आउनेमध्येका एक नेता हुनुहुन्छ । अन्य ठाउँमा पनि १० बुँदेपछि पार्टी एकता प्रक्रियामा जोडिएका नेताहरू उम्मेवदार हुुनुभएको छ । यस आधारमा तपाईंले भन्नु भएको कुरा गलत हो ।
अन्तिममा, ६ महानगरपालिकामध्ये एमालेको स्थिति कहाँ कस्तो छ ?
सबै महानगरपालिका हामी जित्छौँं । यसका पछि केही आधार छन् । जस्तै, भरतपुर महानगरपालिकामा अघिल्लो पटक हाम्रो उम्मेदवार झिनो मतान्तरले पराजित हुनुभएको थियो । र, यस पटक हाम्रो जित निश्चित जस्तै देखिन्छ । कारण–त्यहाँ जगन्नाथ पौडेलजी स्वतन्त्र उम्मेदवार हुनुभएको छ । उहाँले गठबन्धनको भोट धेरै काट्न सक्नुहुन्छ । उहाँले काट्नेबित्तिकै जित्छौँ ।
काठमाडौंमा त केशव स्थापितजीको प्रतिस्पर्धी नै नभए जस्तो देखिन्छ । स्थापितजी काठमाडौं सहर व्यवस्थित र विकसित बनाउने राम्रो ‘भिजन’ भएको नेता हो । माइतीघर क्षेत्रदेखि काठमाडौंका साँघुरा सडक विस्तार गर्ने नेता हुनुहुन्छ । उहाँ २०५४ सालमै परीक्षण भएको नेता हुनुुहुन्छ । उहाँ धेरै बलिया प्रतिस्पर्धी हुनुहुन्छ ।
पोखराको कृष्ण थापाजी पनि यसअघि नै पोखराबासीबाट परीक्षण भइसक्नु भएको छ । त्यहाँ त हाम्रो मतान्तर नै १४ हजार बढी थियो २०७४ सालमा । ललितपुर, विराटनगर र वीरगञ्ज पनि हामीले निर्वाचन जित्न मुस्किल छैन यसपटक ।