सोलु, २१ बैशाख । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाले गएको ४ वर्षमा प्रतिनिधि भ्रमण बापत १ करोड खर्च गरेको पाइएको छ । गाउँपालिकाका जनप्रतिनिधिहरुले भ्रमण खर्च बापत १ करोड रुपैयाँ खर्च गरेको तथ्यं फेला परेको हो ।
यो रकम आर्थिक वर्ष २०७४/०७५ देखि २०७७/७८ भित्र खर्च भएको हो । प्रतिनिधि निर्वाचित भएपछि आर्थिक वर्ष २०७४/७५ मा २४ लाख ९८ हजार १९० रुपैयाँ, आव ०७५/७६ मा ४ लाख ९७ हजार ५ सय, आव ०७६/०७७ मा २९ लाख ९७ हजार ९८ र आव ०७७/०७८ मा ३९ लाख ८२ हजार ८ सय गरी जम्मा करिब १ करोड रुपैयाँ भ्रमण खर्चमा सकिएको गाउँपालिकाको खर्च विवरणमा उल्लेख छ । जबकी यो बीचमा कोरोना कहरले गर्दा लामो अबधिभर यात्रा प्रतिबन्ध रहेको थियो ।
यस्तै, गाउँपालिकाका जनप्रतिनिधिहरुले निर्वाचित भएको ४ आर्थिक वर्षभित्र पारिश्रमिक बापत करिब ७७ लाख रुपैयाँ भन्दा बढी बुझेका देखिएको छ ।
गाउँपालिकाको प्रशासनिक (चालु) खर्चमा उल्लेखित विवरण अनुसार आव ०७६/०७७ र आव ०७७/०७८मा बराबरी ३८ लाख ५२ हजार पारिश्रमिक लिएको देखिएको छ । भने निर्वाचित भएको सुरुका २ आर्थिक वर्षमा लिएको पारिश्रमिक भने खुलाइएको छैन् ।
यस गाउँपालिकाका जनप्रतिनिधिहरुले गएको ४ आर्थिक वर्षमा बैठक भत्ता बापत साढे ५० लाख रुपैयाँ लिएको देखिएको छ । भने व्यक्तिगत इन्धन खर्चको बापत १२ लाख ६२ हजार रुपैयाँ लिएको देखिन्छ ।
नेचासल्यान गाउँपालिकामा जनप्रतिनिधि निर्वाचित भएको सुरुको आव ०७४/०७५ मा अन्य भत्ता बापतको शिर्षकमा ४९ लाख ४८ हजार ३८९ रुपैयाँ खर्च गरिएको छ । भने ‘विविध खर्च’ शिर्षकमा भने ३५ लाख रुपैयाँ खर्च गरिएको देखिन्छ । ‘अन्य सेवा शुल्क’ बापतको शिर्षकमा ११ लाख खर्च गरिएको छ ।
यो गाउँपालिका मसलन्द तथा कार्यालय सामाग्री खरिदमा समेत अस्वभाविक खर्च देखिन्छ । गाउँपालिकाको खर्च विवरण अनुसार गएको ४ आर्थिक वर्षमा करिब ६७ लाख रुपैयाँ मसलन्द तथा कार्यालय सामाग्री खरिद मा खर्च भएको दखिन्छ ।