Logo

आज रातो मछिन्द्रनाथको रथ पुल्चोकबाट तानिने



ललितपुर, २१ वैशाख । वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथको जात्राअन्तर्गत आज अपराह्न पुल्चोकस्थित मछिन्द्रनाथको रथ तान्न थालिएको छ । चार दिन पहिले रथारोहण भएपछि आज रथलाई तानेर गाबहाल लैजान लागिएको हो । उपत्यकाको सबैभन्दा लामो जात्राका रुपमा रहेको रातो मछिन्द्रनाथको जात्रा ललितपुरमा धुमधामका साथ मनाइँदै आएको छ । आज रथलाई तानेर गाबहाल पु¥याइने गुठी संस्थान ललितपुर शाखाका प्रमुख हरि सुवेदीले बताए । उनका अनुसार रथ तान्नका लागि विभिन्न किसिमको तयारी भइरहेको छ । आज जावलाखेल–पुल्चोक सडक बिहानैदेखि एकातर्फबाट मात्रै सञ्चालन गरिएको छ । उनले भने, “सकेसम्म सवारी आवागमनमा कम असर पुगोस् भनेर ध्यान दिइएको छ ।”

बिजुली, केबुल र इन्टरनेटको तारका कारण रथ तान्न समस्या हुनसक्ने उनले बताए । रथ तान्दा नगर प्रहरीले रथलाई अवरोध गर्ने खालका तार काटेपछि रथ अगाडि बढाइनेछ । उनले भने, “रथको सुरक्षा र त्यहाँभित्र रहेका मानिसको सुरक्षाका लागि पनि त्यहाँको अवरोध हटाउनुपर्छ ।” विगत दुई वर्ष कोभिडका कारणले जात्रा नियमित रुपमा सञ्चालन हुन नसकेको प्रमुख सुवेदीले बताए ।

सङ्क्रमणको जोखिमका कारण साङ्केतिक रुपमा मात्रै रथ तानिएकामा यो वर्ष विधिपूर्वक गर्न लागिएको हो । त्यसैले पनि स्थानीयवासी हर्षित र उत्साहित भएको प्रमुख सुवेदीले बताए।

एकातिर सिङ्गो मुलुकमा स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा ललितपुर महानगरपालिकामा भने जात्राको पनि रौनक छ । निर्वाचनकै दिनमा पनि रथ तान्नुपर्ने उनले बताए । उनले भने, “रथ यात्राका क्रममा कुनै झगडा नहोस् भनेर हामीले दलहरुसँग पनि समन्वय गरिरहेका छौँ ।”

चार दिन पहिले (वैशाख शुक्ल प्रतिपदा) का दिनमा रथारोहण भएपछि आज तानिएको हो । आजै गाबलहालमा छोयलाबु गरिनेछ । भोलि गाबहालमा भुजा जात्रा (मुख्य जात्रा) गरेपछि साँझ तानेर मङ्गल बजार आसपास पु¥याइनेछ । मछिन्द्रनाथलाई पुल्चोकबाट तानेर पाटनका विभिन्न स्थान हुँदै जावलाखेलसम्मको यात्रालाई त्रिलोक भ्रमण भन्ने गरिन्छ । मछिन्द्रनाथको यो यात्रा गुरु बन्धुदत्त बज्राचार्यको स्मरणमा हुने गरेको मानिन्छ । यो रथयात्रालाई मछिन्द्रनाथको स्वर्गलोकको भ्रमणतुल्य मानिन्छ ।

ललितपुरवासीले विशेष महत्वका साथ मनाउने जात्रामा परम्परादेखि नै काठमाडौँ र भक्तपुरवासीको पनि सहभागिता रहँदै आएको छ । रथ लिन जाँदा ललितपुरका किसान रथचक्र, काठमाडौँका गुरु बन्धुदत्त बज्राचार्य र भक्तपुरका राजा नरेन्द्रदेवसँगसँगै जानुले पनि जात्रामा काठमाडौँ र भक्तपुरवासी जोडिएको भए पनि अहिले काठमाडौँवासी र भक्तपुरवासी रथ तान्न भने आउन छाडेका छन् । किसान रथचक्र, गुरु बन्धुदत्त बज्राचार्य र राजा नरेन्द्रदेवको सम्झनामा रथ यात्रा हुने गरेको छ ।



प्रतिक्रिया दिनुहोस्