Logo

हँसिया हथौडामा भोट नहाल्ने भए कांग्रेस छाड्न सक्नुपर्‍योः रामनारायण बिडारी



काठमाडौं, २४ वैशाख । नेकपा (माओवादी केन्द्र) का नेता रामनारायण बिडारीले नेपाली कांग्रेसको कार्यकर्ताले हँसिया हथौडामा भोट हाल्दिन भन्न नपाउने बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता बिडारीले भने, “प्रचण्डले चितवनमा नेपाली कांग्रेसका कार्यकर्तालाई लक्षित गरेर यदि गठबन्धनले हार्यो भने प्रतिगामी तत्त्व अघि बढ्छ, देशलाई अनिष्ट र दूरगामी रुपमा अप्ठ्यारो पर्छ भन्नुभएको हो । त्यसलाई मिडियाले बंग्याउने, ढल्काउने गरेको मात्र हो । उहाँले नेपाली कांग्रेसको कार्यकर्ताले हँसिया हथौडामा भोट हाल्दिन भन्न पाउँदैन भन्या हो । नेपाली कांग्रेस त गठबन्धनको पहिलो दल हो । त्यसैले कि पार्टी छाड्नुपर्यो कि हँसिया हथौडा हाल्नुपर्छ । त्यसैले होसपूर्वक मतदान गर्नुपर्छ भन्या हो । प्रतिगामी तत्त्वले देश सखाप पारेको प्रमाण छँदै छ ।”
मकवानपुर जिल्लामा गठबन्धन बलियो भएको पनि उनले औंल्याए । बिडारीले भने, “गठबन्धन तीव्रताका साथ अगाडि बढेको छ । कुनै कुनै वडामा सामान्य गडबडी छ । एउटै दल लड्दा त बागी हुन्छ भने गठबन्धन लड्दा हुने नै भयो । हेटौंडा उपमहानगरमा पनि गठबन्धन बलियो छ । एमाले प्रतिगामी कित्ताको भयो, राप्रपा डेट एक्साएर भयो । पञ्चायती खम्बा, निर्दलीय र राजतन्त्रको हिमायती दल बलियो हुनु लाजमर्दो हो । त्यसैले सबै ठाउँमा गठबन्धनले जित्छ ।”



प्रतिक्रिया दिनुहोस्