Logo

कहाँकहाँ दोहोरियो उम्मेदवारी



काठमाडौं,बैशाख २६ । प्रमुख राजनीतिक दलहरूले काठमाडौं उपत्यकामा झन्डै तीन दर्जन नेतालाई स्थानीय तहको निर्वाचनमा दोहोर्‍याएर उम्मेदवार बनाएका छन्। २०७४ को स्थानीय तहको निर्वाचनमै उम्मेदवार बनेका पार्टी नेताहरूले फेरि सोही पदमा दोहोर्‍याएका हुन्।

अघिल्लो निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्ने मात्र होइन, परिणाम आफ्नो पक्षमा ल्याउन नसकेका नेतालाई पनि नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्रलगायत प्रमुख राजनीतिक दलबाट मेयर र उपमेयर पदमा उम्मेदवार बनाएका हुन्। त्यसरी उम्मेदवार बन्ने नेताको संख्या ३० भन्दा बढी छ। भक्तपुरको भक्तपुर नगरपालिकामा मेयर र उपमयेरका उम्मेदवार सुनिल प्रजापति र रजनी जोशीले फेरि उम्मेदवारी दिएका छन्। नेपाल मजदुर किसान पार्टीबाट प्रजापति र जोशीले उम्मेदवारी दिएका हुन्।

मेयर र उपमेयर मात्र होइन, भक्तपुरका १० वटा वडामध्ये ७ वटामा नेमकिपाबाट दोहोरिएर उम्मेदवारी परेको छ। १ नम्बर वडाबाट श्यामकृष्ण खागी, २ बाट हरिप्रसाद बासुकला, ३ बाट राजकृष्ण बोहारा, ६ बाट हरिप्रसाद सुवाल तथा ९ बाट रवीन्द्र ज्याख्योले वडाध्यक्षमा फेरि उम्मेदवारी दिएका छन्।

भक्तपुर नगरपालिकामा मेयरमा उम्मेदवारी दिएका रामप्रसाद कसुलाले पनि दोहोरिएर उम्मेदवारी दिएका छन्।मध्यपुर थिमीमा एमालेका उम्मेदवारी मदन सुन्दर श्रेष्ठले दोहोरिएर मेयर पदमा उम्मेदवारी दिएका छन्।

सूर्यविनायक नगरपालिकमा पनि बासुदेव थापालाई एमालेले दोहोर्‍याएर मेयरमा उम्मेदवारी दिएको छ। चाँगुनारायण नपामा भने अघिल्लोपटक उपमेयरमा चुनाव जितेकी बिना बास्तोलाले यसपटक मेयरमा उम्मेदवारी दिएकी छन्।

ललितपुर महानगरपालिकामा पनि कांग्रेस र एमालले दोहोर्‍याएर उम्मेदवारी दिएका छन्। यस महानगरमा कांग्रेसबाट चिरिबाबु महर्जन तथा एमालेबाट हरिकृष्ण व्यञ्जनकारले दोहोर्‍याएर मेयर पदमा उम्मेदवारी दिएका छन्।

ललितपुरको बागमती गोदावरी नगरपालिकामा कांग्रेसले मेयर र उपमेयर दुवै पदमा दोहोर्‍याएर उम्मेदवारी दिएको छ। मेयरमा गजेन्द्र महर्जन र उपमेयरमा मुना अधिकारीले दोहोर्‍याएर उम्मेदवारी दिएका छन्। गोदावरी नपामा अघिल्लोपटक नेकपा (एमाले) बाट मेयर पदमा उम्मेदवारी दिएका श्यामकृष्ण सिलवालले यसपटक नेकपा (एकीकृत समाजवादी) बाट उपमेयरमा उम्मेदवारी दिएका छन्।

बागमती गाउँपलिकाको अध्यक्ष पदमा वीरबहादुर ल्याप्चोनले दोहोर्‍याएर उम्मेदवारी दिएका छन्। उनले कांग्रेसबाट उम्मेदवारी दिएका हुन्। यसैगरी ललितपुरको काञ्ज्योसोम गाउँपालिकामा माओवादी केन्द्रबाट गोपीलाल सिन्ताङले दोहोर्‍याएर उम्मेदवारी दिएका छन्।

काठमाडौंको दक्षिणकाली, चन्द्रागिरि, नागार्जुन, कीर्तिपुर, कागेश्वरी मनोहरा र गोकर्णेश्वर नगरपालिकामा कांग्रेसले दोहोर्‍याएर उम्मेदवारी दिएको छ। टोखामा अघिल्लोपटक उपमेयरमा उम्मेदवारी दिएकी रजनी थापाले यसपटक मेयर पदमा उम्मेदवारी दिएकी छन्।

कांग्रेसले दक्षिणकालीमा मेयरमा मोहन बस्नेत, चन्द्रागिरिमा घनश्याम गिरी, नागाजुर्नमा मोहनबहादुर बस्नेत, कीर्तिपुरमा राजकुमार नकर्मी, कागेश्वर मनोहरामा मेयरमा उपेन्द्र कार्की तथा गोकर्णेश्वरमा सन्तोष चालिसेलाई मेयरमा उम्मेदवार बनाएको छ। यी सबै उम्मेदवार दोहोरिएका हु्न्। काठमाडौंको तारकेश्वर नपामा मेयर र उपमेयर दुवै पदमा एमालेले दोहोर्‍याएर उम्मेदवारी दिएको छ।

यसैगरी टोखा नगरपालिकाको मेयरमा पनि एमालेले दोहो¥याएर उम्मेदवारी दिएको छ। टोखामा प्रकाश अधिकारीलाई एमालेले दोहोर्‍याएर मेयरमा उम्मेदवारी दिएको छ। यसैगरी जनता समाजवादी पार्टीले पनि दोहोर्‍याएर उम्मेदवारी दिएको छ। जसपाले कीर्तिपुर नपाको उपमेयरमा शुभलक्ष्मी शाक्यलाई दोहोर्‍याएर उम्मेदवारी दिएको छ।

काठमाडौंमा मात्र होइन, बाहिर पनि ठाउँठाउँमा दोहोर्‍याएर उम्मेदवारी परेका छन्। भरतपुर महानगरमा मेयर पदमा माओवादी केन्द्रबाट रेणु दाहालले दोहोर्‍याएर उम्मेदवारी दिएकी छन्। वीरगन्जमा राजेशमान सिंह र विजयी सरावगीले दोहोर्‍याएर मेयर पदमा उम्मेदवारी दिएका छन्।  नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्