काठमाडौं, २६ बैशाख । यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा तारकेश्वर नगरपालिकाको मेयरमा स्वतन्त्रबाट उम्मेद्धवारी दिएका रामहरी खड्का घरदैलो अभियानमा सक्रियताका साथ लागिपरेका छन् । उनी गुलाफको फूल चुनाव चिन्ह लिएर चुनावी प्रतिष्पर्धामा छन् ।
समृद्ध नगर बनाउनको लागि खड्काले आफ्नो उम्मेद्धवारी दिएको बताईएको छ । तारकेश्वर नगरपालिकाको प्रशासनिक सुधार एवं समग्र विकासको लागि आफूलाई गुलाबको फूल चिन्हमा मतदान गरी निर्वाचित गर्न खड्काले स्थानीयबासीहरुलाई आग्रह गरेका छन् ।
उनले हिन्दू राज्य, संस्कृत भाषाको प्रवद्र्धन, नैतिक शिक्षा र सामाजिक चेतना जागरण, युवाहरुलाई उत्पादनसँग जोड्ने आकर्षक कार्यक्रम, साना र घरेलु उद्योगको प्रवद्र्धन, संस्कृतिको संरक्षण, धार्मिक मठमन्दिर एवं परम्परागत सीप र कलाको संरक्षण लगायतका एजेण्डाहरुलाई खड्काले आफ्ना चुनावी एजेण्डा बनाएका छन् ।
श्रीपशुपतिनाथ र तारकेश्वर महादेवको आशिर्वाद एवं जनताको चाहनाले आफूलाई निर्वाचनमा उम्मेदवारी दिन प्रेरित गरेकोे खड्का बताउँछन् । आफूले जनताका इच्छा र चाहनाहरु सम्बोधन गर्ने उद्देश्यले आफ्नो स्वविवेकले आफ्नो योग्यताको कदर गर्दै अरु कसैको समर्थन बिना निःस्वार्थ भावले उम्मेदवारी दिएको समेत खड्काले बताएका छन् ।
नगरपालिका क्षेत्रमा आगामी दिनमा मुलुकको शान्ति र समृद्धिको उद्देश्यलाई हृदयङ्गम गर्दै जनताका माग र आवश्यकताका आधारमा दिगो महत्वका विकास आयोजनाहरुलाई अघी बढाउनुपर्ने खड्काको धारणा छ ।